Logo

टाट पल्टिएपछि यूटीएलका सञ्चालक सम्पर्कविहीन



काठमाडौं, २६ साउन । निजी लगानीको युनाइटेड टेलिकम लिमिटेड यूटीएल टाट पल्टिएपछि कम्पनीका सञ्चालक सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमसँग प्रतिस्पर्धा गरी दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले १८ वर्षअघि यो कम्पनी सञ्चालनमा आएको थियो। सुरुमा नेपाल टेलिकमको विकल्पका रूपमा रुचाइएको यो कम्पनीले छोटो समयमै अत्यधिक उपभोक्तालाई आकर्षित गर्न सफल भएको थियो। तर व्यवस्थापनमा आएको समस्याले धरासायी भई अन्ततः कम्पनी नै बन्द भयो।

लगानीकर्ताको बेवास्ताका कारण लामो समयदेखि यूटीएल बेवारिसे भएको छ। २०५९ सञ्चालन अनुमति पाएको यो कम्पनी धरासायी भएर हाल यसको सञ्चालक समिति सदस्य नै बेपत्ताा छन्। कम्पनीले कार्यालय र टावर राख्न भाडामा लिएका घरको भाडासमेत लामो समयदेखि तिरेको छैन।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीसहित सञ्चालक समिति सम्पर्कविहीन हुँदा सरकारलाई तिर्नुपर्ने बक्यौता रकमसमेत असुल भएको छैन। यूटीएलससँग सम्बद्घ कुनै पनि अधिकारी अहिले सम्पर्कमा नभएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यूटीएलले सरकारलाई तिर्नुपर्ने दायित्व लामो समयदेखि फरफारक नगरी लाइसेन्स र फ्रिक्वेन्सी मात्रै ओगटेर बसेको छ। नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने रकम नबुझाएर उक्त कम्पनी सम्पर्कबाहिर बस्नु आफैमा शंकास्पद रहेको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्