Logo

‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन



काठमाडौं, साउन २६ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो ।

नाष्टले उचित रेडियो खरिद प्रक्रियामा समय खर्च गरिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भने, “हामीले ‘नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरुसँग समन्वय गरी अघि बढिरहेका छौं । यो रेडियो उपकरण अन्य देशमा नरहेको तर अफ्रिकी मूलुकबाट ल्याउनुपर्ने भएको छ ।” नाष्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्वीर लिने काम गरिरहेको ढकालले बताए।

नाष्ट कार्यालयमा हाल भएको रेडियोले सूचना प्रवाह गर्न नसकेको, रेडियो सङ्केतमा फ्रिक्वेन्सी म्याचिङ नभएको र पुरानो ढाँचाको रेडियो आवश्यक भएको तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या भइरहेको प्रवक्ता सुरेशकुमार ढुङ्गेलको भनाई छ ।

‘नेपाली स्याट–१’ ले केही समयअघि जापानबाट पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा तस्वीर पनि कैद गरिसकेको बताइएको थियो । अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महिनाअघि ‘नेपाली स्याट–१’ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो । ती भू–उपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरिक्षमा रहेका छन् । नेपालीस्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ । नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो ।

विसं २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको सो नेपाली स्याट–१ ले करिब दुई महिनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा शुरु गरेको थियो । पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो । उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) ले प्रत्यक्ष प्रसारण गरेको थियो । सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए ।

संयुक्त राष्ट्रसङ्घले सो भू–उपग्रह निर्माणका लागि स्पेस टेक्नोलोजी इञ्जिनीयरिङमा विद्यावारिधि गरेका आभाष मास्के र नेपालको इलेक्ट्रिकल तथा कम्युनिकेशन इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई जापानको ‘वर्ड–थ्री’ परियोजनाअन्तर्गत छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरी नेपालको विकासमा ठूलो योगदान पु¥याएको छ । ‘नेपाली स्याट–१’ नामक भू–उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकम चिह्न अङ्कित छ ।

सो भू–उपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भूटान अनि नेपाललाई जानकारी दिइएको नाष्टका अन्तरिक्षयान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी दिए। तीनवटै भू–उपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी क्रमैसँगै प्रक्षेपण भएका थिए । एक किलो ३०० ग्राम तौल तथा एक हजार घनत्व आकार भएको भू–उपग्रहमा छ वटा ब्याट्री जडान गरी सूर्यको तापबाट चल्ने बनाइएको नाष्टले जनाएको छ ।

नेपालले पहिलो पटक प्रक्षेपण गरेको सो भू–उपग्रहले नेपाली जनशक्ति निर्माण, उनीहरुको क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति र उत्साही युवाको पहुँचको दृष्टिले अघि बढ्न सहयोग पुग्ने बताइएको छ ।

वास्तवमा एउटा भूउपग्रहले सबै काम गर्न सक्छ तर नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह ‘न्यानो’ स्याटलाइट भएकाले यसबाट वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययनन र अनुसन्धानमा मात्र जोड पुग्ने देखिन्छ । नेपाली वैज्ञानिकका अनुसार ‘नेपाली स्याट–१’ले एक पटक पृथ्वीको परिक्रमा गर्न ९० मिनेट लगाउँछ । विश्वमा लगभग ४० हजार भू–उपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्ने माध्यमको पूर्णता हुनेछ ।

भू–उपग्रहले सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यसको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ । नाष्टको ग्राउण्ड स्टेशनबाट सङ्कलन गरेको तस्वीर व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका वैज्ञानिकको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम