Logo

नचाहिने बेलामा लकडाउन भयो, लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढ्यो : डा. रिजाल



बरिष्ठ चिकित्सक डा. भोला रिजालले सरकारले नचाहिने बेलामा लकडाउन लगाएको र लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढेको टिप्पणी गरेका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्, नचाहिने बेलामा लकडाउन भयो । लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढ्यो । सायद सरकारलाई पैसाको कमी भयो । करको जुन ब्याज थियो, त्यो लिनको लागि असार १ गतेदेखि श्रावण १ गतेभित्र बुझाइसक्नुपर्ने भनेर अदालतको फैसलाले गर्दा । सरकारले इफोर्ट नै गरेको छैन, प्रयास नै गरेको छैन भनेर हामीले भन्न मिल्दैन । प्रस्तुत छ डा. रिजालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको संक्रमण ह्वात्तै बढ्यो । कसरी बचाउने जनतालाई ?

हामीले पहिले नै प्रक्षेपण गरेका हौँ कि नेपालमा लकडाउन एकैपटक खुकुलो नपारिकन विस्तारै विस्तारै खुकुलो पार्नुपर्छ भनेर भनेका थियौँ । यसमा सरकारको प्रयास नभएको होइन । त्यो प्रयासमा अलिकति योजनाको अझ व्यवस्था भईदिएको भए अहिलेको जस्तो दिनमा ३००, ४००, ६००, यो नपुग्नुपर्ने थियो । आज न्युजिल्याण्ड पूरा कोरोनामुक्त भयो । त्यस्तै नेपाल पनि चाँडै मुक्त होस् । हामीले त्यही सोचिरहेका छौँ ।

होइन तपाई, हामी र जनताले सोचिरहेका छौँ तर सरकारले सोचेन नि त ?

नारायणी अस्पताललगायत सरकारी अस्पतालहरू सक्रिय छन् । नचाहिने बेलामा लकडाउन भयो । लकडाउन गर्ने बेलामा कोरोना संक्रमित ह्वात्तै बढ्यो । सायद सरकारलाई पैसाको कमी भयो । करको जुन ब्याज थियो, त्यो लिनको लागि असार १ गतेदेखि श्रावण १ गतेभित्र बुझाइसक्नुपर्ने भनेर अदालतको फैसलाले गर्दा सरकारले इफोर्ट नै गरेको छैन, प्रयास नै गरेको छैन भनेर हामीले भन्न मिल्दैन ।

फ्रन्टलाइनका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी संक्रमणमा छन् । अब उनीहरूले कसरी काम गर्ने ? मजदुरहरूको समस्या त्यस्तै छ । निजी अस्पताल मौन बस्छ । वीरगञ्जमा नेशनल मेडिकल कलेजले किन उपचार गरेन विरामीहरूको ?

अहिले अस्पतालहरू कोशी, नारायणी अस्पतालहरू छन् । मेडिकल कलेजले एकदम गरिरहेको छ । सार्वजनिक, निजी अस्पतालले उपचार नगरेर बस्न सक्छ र अहिले यस्तो बेलामा ? निजी अस्पतालले सेवा दिएन भनेर नारा लाग्छ । त्यतातिरको मैले अर्थ बुझेको छैन । यतिखेर सबै एक भएर कसरी हुन्छ, सरकारसँग समन्वय गरेर सबैलाई बाँडेर गरिरहेको बेलामा झन् यी कुराहरू आउँदाखेरि त भोली नारायणी अस्पताल तोडफोड भयो भने समस्या आउँछ ।

निजी अस्पताल पनि सरकारसँग सहकार्य गर्न तयार हुनुपर्छ कि पर्दैन् ? 

गर्दैछ । कोभिड अस्पताल भनेर सरकारले तोकिदिएको छ । नेपालगञ्ज मेडिकल कलेजलाई कोभिडको लागि भनेर तोकिदियो । नेशनल मेडिकल कलेजलाई कोभिड भनेर तोकेको होइन । नारायणी अस्पताललाई कोभिड भनेर तोकेको छ ।

नारायणी अस्पतालमा त उपचार गर्ने ठाउँ नै छैन नि ? 

यो स्थिति आउँछ भनेर हामीले पहिल्यै पनि भनिसकेको कुरा हो । डा. सुन्दरमणि दीक्षित, डा. सुरेन्द्र पोखरेलहरूले अनुभवका आधारमा बोल्नुभएका कुराहरू छन् । हिजो, अस्ति पनि बोल्नुभएको छ । कुनै नराम्रो बोल्नुहुन्न । नेपाललाई कसरी जोगाउने ? नेपालीलाई कसरी यो रोगबाट मुक्त गर्ने ? भन्ने कुराको बारेमा उहाँहरूले सुझाव दिनुभएको छ । त्यसमा गल्ती छ भने विवाद, सल्लाह गर्नुपर्छ । हिजो मैले टेलिभिजनमा पनि देखेँ कि निजी अस्पतालले उपचार नगरेर यस्तो अवस्था आयो भनेर तर निजी क्षेत्रका अस्पताललाई के गर भनिएको छ, त्यही गरिरहेका छन् ।

जाँदाजाँदै केही भन्न चाहनुहुन्छ ?

स्वास्थ्यकर्मीहरूलाई यो कोभिडको बेलामा मात्र होइन अरू बेलामा पनि सम्झिएर उनीहरूलाई धन्यवाद दिएर मनोबल बढाउनको लागि सबै एक भएर लड्ने साहस हामीहरूले पाऔँ । यहाँ कोही भाग्न पनि खोजेको छैन । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्