Logo

पार्टी फुट्यो भने मुलुक कुनैपनि अतिवादीको हातमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ : भट्टराई



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद विशाल भट्टराईले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने स्पष्ट पारेका छन् । आफूहरुले पार्टीलाई जोगाउन प्रयत्न गरिरहेको उनले सुनाएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद भट्टराईले भनेका छन्,’यसमा हामी जनताबाट निर्वाचित सांसदहरू कुनै पनि हालतमा चुप लागेर बस्न मिल्दैन । एक ढिक्का भएर हामीले पार्टी विभाजित हुनुहुँदैन भन्ने आवाज उठाईसकेपछि विभाजित हुने त कुरा नै आउँदैन ।’ प्रस्तुत छ सांसद भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब पार्टीलाई फुटबाट बचाउन सक्नुहुन्छ, तपाईहरू ? के यो सम्भव छ ?

त्यो असम्भव कुरा त हुँदै होइन । नेपाली जनताले निर्माण गरेको पार्टी हो यो । नेपाली जनताले मतदान गरेर यो ठाउँमा पुगेको पार्टी हो यो । केही नेताहरूबीचको अनावश्यक टक्करले गर्दाखेरि निराश बनाउने काम भएको थियो । तर हामीले पार्टीलाई जोगाउने प्रयत्न गरेका छौँ ।

कसरी जोगिन्छ ? आधार दिनुस् न ।

यसै पनि यो पार्टी जोगाउनका लागि वामदेवलगायतका नेताहरूले कसरत गरिरहनुभएकै थियो । कतिपय नेताहरू हामीले निर्माण गरेको पार्टी तिमीहरूले विभाजन गर्न पाउँदैनौँ भनेर ठुलो आग्रहका साथ लागिरहनुभएको थियो । यसमा हामी जनताबाट निर्वाचित सांसदहरू कुनै पनि हालतमा चुप लागेर बस्न मिल्दैन । एक ढिक्का भएर हामीले पार्टी विभाजित हुनुहुँदैन भन्ने आवाज उठाईसकेपछि विभाजित हुने त कुरा नै आउँदैन ।

नेताहरू गुटको बैठकमा व्यस्त छन्, मस्त छन् । तपाई भन्नुहुन्छ, पार्टी फुट्दैन । प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रचण्डबीच संवाद भएको छ कि छैन ? ६ दिन भईसक्यो आज सम्वाद टुटेको ?

अहिले यसबीचमा उहाँहरूको संवाद भएको छैन । कोरोनाको कारणले पनि समस्या उत्पन्न भएको छ । सँगसँगै बाढी पहिरोको समस्यामा पनि सरकार त्यता केन्द्रित छ । वार्ता र संवाद नहुने बित्तिकै फुटतिर गएको होइन । अन्तिम चरणसम्म पनि वार्ता र संवाद त हुन्छ नै । त्यो मात्र इन्डिकेटर हुँदैन । एकले अर्कालाई गाली गलौज गर्ने, नेताहरूलाई उक्साउने काम भईरहेको हुनाले जिम्मेवारी कार्यकर्ताको बीचमा परेको हुन्छ । हामी ६०÷६१ सांसदहरू विभाजनको पक्षमा छैनौँ भनेर हामीले सार्वजनिक अभिव्यक्ति दिईसकेपछि विभाजनलाई हामी जसरी पनि रोक्न सक्छौँ भन्ने हामीले आत्मविश्वास लिनुपर्छ ।

सांसदहरूले हस्ताक्षर सुरु गरेका छन् । सांसदहरू पनि विभिन्न गुटमा विभाजित छन् । तपाई कुन गुटबाट चिनिनुहुन्छ ?

हामी नेकपाको सांसद हो ।

होइन तपाई त के.पी. शर्मा ओलीसँग निकट भएको व्यक्ति हो नि त ?

महाधिवेशनको बेला हामी कुनै नेताविशेष थियौँ । तर अब हामी नेपाल कम्युनिष्ट पार्टीलाई अक्षुण्ण राख्नुपर्छ । सबैभन्दा ठुलो कुरा भनेको हामीले धेरै संघर्षपछि लडेर ल्याएको यो प्रणाली जुन छ, नेपालको इतिहासमा अत्यन्तै उल्लेख्य नेपालको संविधानले व्यवस्था गरेका उपलब्धिहरू असाध्यै महत्वपूर्ण र ऐतिहासिक छन् । हामीले गणतन्त्र प्राप्त गरेका छौँ । महत्वपूर्ण उपलब्धिहरूलाई हामीले कमजोर बनायौँ भने धरासयी हुन्छ । पार्टी मजबुत नभई लोकतन्त्र मजबुत हुँदैन । वास्तवमा हामी पार्टीको विभाजनको पक्षमा जानुहुँदैन । कांग्रेस फुटेपछि सत्ता पूर्वराजा ज्ञानेन्द्रको हातमा गयो । पार्टी फुट्यो भने मुलुक कुनै पनि अतिवादीको हातमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ ।

तपाईहरू अहिले जुन झगडा गरिरहनुभएको छ, पद, शक्ति र व्यक्तिगत स्वार्थको लागि तर जनता छटपटिरहेका छन् । जनता पीडा, समस्यामा छन् । अलपत्रमा परिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सरकार सफल भएन ? आज कोरोनाको बारेमा तपाईहरू छलफल गर्नुहुन्छ ?

हामी तलका मान्छेले झगडा गरेका छैनौँ । झगडा माथिका मान्छेले गरेका छन् । अहिलेको सरकारलाई सल्लाह सुझाव दिने, कोरोना नियन्त्रणमा सक्रियताका साथ अघि लाग्ने, विदेशीहरूले आक्रमण गरेका छन्, हामीले त्यसको प्रतिवाद गर्ने, भारतीय मिडियाहरूबाट नेपालको प्रधानमन्त्री र नेपालमाथि सिधै अपमानजनक शब्दहरू प्रयोग गर्ने, गाली गलौज गर्ने कामको विरुद्ध हामीले प्रतिवाद गर्न छोडेर हामी झगडा गर्न लाग्यौँ भने त्यसले हाम्रो पार्टीलाई कमजोर बनाउँछ । त्यसकारणले अहिले हामी त्यो दिशातिर जान हुँदैन भन्ने पनि हाम्रो मूल मनशाय हो । कोरोना हाम्रो मुलुकमा भयावह समस्याको रूपमा आउँदैछ । यसको लागि ठुलो तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यो तयारीमा लाग्न पनि म नेताहरूलाई आग्रह गर्छु । file photo



प्रतिक्रिया दिनुहोस्