Logo

बेलारुसमा लुकासेन्को ८० प्रतिशत मतका साथ विजयी, विपक्षीहरुको विरोध प्रदर्शन



२६ साउन : बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उनी बेलारुसको राष्ट्रपति पदमा छैटौं पटक विजयी भएका हुन् ।

केन्द्रीय निर्वाचन आयोगले सोमबार चुनावी नतिजा सार्वजनिक गरेलगत्तै चुनावमा धाँधली भएको आरोप लगाउँदै देशव्यापी विरोध प्रदर्शन शुरु भएका छन् ।

लुकासेन्कोलाई मुख्य रुपमा चुनौती दिएकी विपक्षी नेतृ स्भेत्लाना तिखानोभ्स्कायाले ९.९ प्रतिशत मत मात्र प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अरु तीन जना उम्मेदवारले दुई प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

चुनाव सम्पन्न भएलगत्तै सार्वजनिक चुनावी मतसर्वेक्षणले लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरण सार्वजनिक गरेसँगै राजधानी मिन्स्क र अरु शहरमा लुकासेन्को विरुद्ध विरोध प्रदर्शन भएका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन बल प्रयोग गर्नु परेको थियो ।

यसैबीच प्रहरी कारबाहीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियास्ना मानव अधिकार केन्द्रले प्रहरीले प्रदर्शनकारीमाथि ज्यादै बल प्रयोग गरेको जनाएको छ । भियास्नाका प्रतिनिधि सर्गेई सिसले प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको बताए । भियास्नाका अनुसार कम्तीमा १० जना प्रदर्शनकारी अस्पताल भर्ना भएका छन् ।

बेलारुसको गृह मन्त्रालयकी प्रवक्ता ओल्गा चेमोडानोभाले प्रहरी कारबाहीमा कुनै प्रदर्शनकारीको मृत्यु नभएको दाबी गरेका छन्।यसैबीच, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएका लुकासेन्कोलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । तर पोल्यान्डले बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनका बारेमा छलफल गर्न युरोपेली युनियनको आपतकालीन बैठक डाक्न आग्रह गरेको छ ।

पोल्यान्डका प्रधानमन्त्री मेटिउज मिराविकीले जारी गरेको वक्तव्यमा बेलारुसका जनताको स्वतन्त्रता प्रतिको चाहनालाई सम्मान गर्न युरोपेली युनियन तत्पर हुनुपर्छ भनिएको छ ।एएफपी



प्रतिक्रिया दिनुहोस्