Logo

वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ : कांग्रेस



काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले देश कोभिड—१९ को संक्रमणको मारमा हुँदापनि नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको आरोप लगाएको छ । अनुगमन समितिले आज पत्रकार सम्मेलन गरेर आफ्नो विचार बाहिर ल्याउने क्रममा यस्तो आरोप लगाएको हो ।

समितिले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले नदेखिएको पनि चित्रण गरेको छ । वर्तमान सरकार भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको र विचौलियातन्त्रको कठपुतली बनेको उसको आरोप छ । Photo By: Anurag Shah/Facebook

प्रेस नोट – नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति

नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति

श्रावण २६, २०७७

प्रेस नोट

देश कोभिड—१९ को संक्रमणको मारमा छ । तर नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले देखिएको थिएन । भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ । पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रुप हो । यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ ।

बढ्दो संक्रमणको कारण मुलुक अहिले स्वास्थ्य संकट र जिविकालाई जोखिममा पार्ने आर्थिक संकटको बीचमा छ । तर संकट सम्वोधनमा भने सरकार अकर्मण्य, नालायक र गैर जिम्मेवार देखिएको छ ।

सरकारले अहिले वन्दावन्दीलाई खुकुलो वनाएको छ तर संक्रमित र संक्रमण गर्न सक्ने व्यक्तिको पहिचान, पृथकीकरण र उपचार अपरिहार्य हुन्छ भने अर्को तर्फ उच्च जोखिममा रहेका व्यक्ति तथा समुदायको सुरक्षा आवश्यक हुन्छ । नेपाली कांग्रेसको निरन्तरको खबरदारीका वावजुद सरकारको उदासिनताले गर्दा यी कामहरु भएनन् । संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभरि कोभिड—१९ संक्रमण फैलदै गएको छ । यसर्थ नेपाली कांग्रेस सरकार समक्ष अविलम्व निम्न कार्य गर्न माग गर्दछ ।

१. लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्ण रुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।
२. सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।
३. संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।
४. पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।
५. खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।
६. समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।
७. आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।
८. स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।
९. कोभिड—१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।
१०. क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।
११. कुनै पनि नागरिक कोभिड—१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।
१२. कोभिड–१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।
१३. कोभिड—१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड—१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

माथि उठाइएका विषयहरु कोभिड—१९ संक्रमणको बढ्दो जटिलतालाई ध्यानमा राखी तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । तर हामीलाई थाहा छ, सरकार संवेदनशील छैन र संक्रमणले व्यापक रुप लिन सक्छ । यस्तो अवस्थामा हामी नेपाली कांग्रेसका सम्पूर्ण तहका संरचनाहरुमा जोडिएका साथीहरु, स्थानीय निकायहरु तथा आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सरकारको भरोसा धेरै गर्न नसकिने भएकोले आफ्नो सुरक्षामा आफै सजग हुने र अरुलाई पनि सजग गराउने आह्वान गर्दछौं । कोभिड—१९ का कारण समस्यामा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं । साथै, निम्न लिखित सावधानी अनिवार्य रुपमा अनुसरण गर्न अनुरोध गर्दछौं ।

१. मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।
२. एक अर्का सँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं ।
३. स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हाँत धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।
४. अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं ।

जय नेपाल !



प्रतिक्रिया दिनुहोस्