Logo

छयालीस हजार स्वदेश फिर्ता



काठमाडौँ, २७ साउन । कोरोना भाइरस कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् । सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर उडान र रोजगारदाता मुलुकले व्यवस्था गरेका उडानमार्फत ५८ देशबाट ४६ हजार ३१२ नेपाली स्वदेश फर्किएका हुन् ।

सरकारले रोजगारी गुमाएका, गन्तव्य देशमा करार अवधि सकिएर अलपत्र परेका, गर्भवती र सुत्केरी महिला, विदेश भम्रण वा आफन्त भेटघाट गर्न गएका उतै रोकिएका लगायतका सिलसिलामा विदेशमा समस्यामा परेकालाई प्राथमिकतामा राखेर स्वदेश फिर्ती ल्याउने काम गरिरहेको छ । यसरी फर्किनेमा अधिकांश खाडी, मलेसियामा रोजगारीका सिलसिलामा समस्यामा परेका श्रमिक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाइएको छ ।

आइतबार पनि विभिन्न देशबाट छवटा चार्टर उडानमार्फत एक हजार नेपाली नागरिक स्वदेश फर्किने जनाइएको छ । कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । बोर्डले १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त उतै अन्त्येष्टि गरिएको जनाइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी छ । यस्तै एनआरएनका अनुसार शनिबारसम्म कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु भएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्