Logo

नेकपाभित्र दन्किँदै आगोः मुख्यमन्त्रीविरुद्ध आफ्नैबाट ‘खेद’



हेटौंडा, २७ साउन । केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसद्बीच अभिव्यक्ति विवाद चर्किएको हो । सरकारले बजेटअनुसार विकास निर्माण गर्न नसकेपछि सांसदहरुको टाउकोमा दोष थुपारेको सांसदहरुले मुख्यमन्त्रीलाई आरोप लगाएका छन् ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाएको भनेर दिएको अभिव्यक्तिमा उहाँकै दलका सांसदहरुले आपत्ति जनाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री पौडेलले आइतबार जिल्ला समन्वय समितिको पाँचौं जिल्लासभामा दिएको अभिव्यक्तिप्रति मकवानपुरका प्रदेशसभाका चार सदस्यले ‘खेद’ व्यक्त गरेका छन् । चार सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री पौडेलको पछिल्लो अभिव्यक्ति आएको दाबी गर्नुभएको छ । संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम ग्लानले प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च गर्न नसक्नुमा सरकारको कमजोरी र बजेट पास नहुने अबस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मुख्यमन्त्री पौडेलले आफूविरुद्ध अविश्वास प्रस्ताव र हस्ताक्षर अभियान चलाइएको भनेर अभिव्यक्ति दिएको बताउनुभएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्