Logo

राष्ट्रिय परिचयपत्र विवरण स्थगित



ललितपुर, २७ साउन । कोरोना संक्रमणको जोखिमका बेला गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रका लागि नामदर्ता शुरु गरेको भन्दै कतै असन्तुष्टि देखिएको छ भने कतै विवरण संकलन कार्य स्थगित गरिएको छ ।

मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमार्फत ललितपुरमा सोमबारदेखि परिचयपत्रका लागि विवरण संकलन कार्य शुरु गरेको थियो । त्यसका लागि आवश्यक उपकरणसहित जनशक्ति वडावडामा पठाएर राष्ट्रिय परिचयपत्रको फारम भर्ने र फोटो खिचाउने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको बेला आइतबारदेखि नागरिकता वितरण कार्य नै स्थगित गरेको छ ।

‘नागरिकता वितरण कार्य नै बन्द गरेको बेला फेरि वडावडामा भीडभाड हुने गरी राष्ट्रिय परिचयपत्र बनाउनुले कोरोनाको जोखिम बढाउने होला त रु’ –ललितपुर महानगरपालिका–१६ वडामा परिचयपत्र बनाउन आएका स्थानीय नन्दुकिशोर श्रेष्ठले प्रश्न तेस्र्याउनुभयो । परिचयपत्र बनाउन आउनेहरुका कारण वडा परिसरमा निकै भीडभाड देखिन्थ्यो । भौतिक दूरी कायम गरेर परिचयपत्रका लागि फाराम लिने, फोटो खिचाउने गरेको पाइएन ।

‘नागरिकता वितरण कार्य अत्यावश्कीय कार्य नभएको सूचीमा राख्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तत्काल स्थगित गरेको अवस्थामा यो कार्य तत्काल गर्नुपर्ने सूचीमा पर्दछ कि पर्दैन रु’ –वडा परिसरमा भीडभाड बढेपछि धेरैले यस्तो प्रश्न तेस्र्याएका थिए । कोरोना बढेका बेला राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई रोक्नुपर्ने स्थानीयबासी चन्द्रमान वज्राचार्यले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि नाम दर्ता गराउन वडाले सहजीकरण मात्र गरेको भन्दै ललितपुर महानगरपालिका–१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो– ‘यो गृह मन्त्रालयको कार्यक्रम जिल्ला प्रशासन कार्यालय हँुदै आएको हो । जनशक्ति र उपकरण पनि प्रशासनले नै पठाएको हो । सर्वसाधारणको असन्तुष्टिबारे हामी संवेदनशील छौं ।’

ललितपुर महानगरपालिका–९ ले सार्वजनिक सूचना नै निकालेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि परिचयपत्रका लागि नाम दर्ता गराउने कार्य स्थगित गरेको छ । त्यसै गरी ११ वडा मणिडोंमा एक व्यक्तिमा कोरोना देखिएको भन्दै वडा कार्यालयले विवरण संकलन कार्य स्थगित गरेको छ । कोरोना जोखिम बढेका कारण स्थगित गर्नुपर्ने वडाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसै गरी ललितपुर महानगरपालिका–६ वडा आसपास क्षेत्रमा एक जना कोरोना संक्रमित देखिएको भन्दै परिचयपत्र वितरणका लागि नामदर्ता गराउने कार्य शुरु गरिएन । वडाआसपासमै कोरोना संक्रमित देखिएकाले परिचयपत्र वितरण शुरु गर्न नसकेको वडाअध्यक्ष हिटलर शाक्यले जानकारी दिएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्