Logo

संक्रमितको शव परिवारलाई दिएपछि तनाव



विराटनगर, साउन २७ । विराटनगर महानगरपालिका–१० का ६३ वर्षीय पुरुषको गत बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरियो।

रिपोर्ट नआउँदै सिकिस्त बिरामी परेपछि मिर्गौला रोगी रहेका उनलाई शुक्रबार उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो।

उनको धरानमै शनिबार मृत्यु भयो। धरानमा पनि उनको स्वाब संकलन गरेर परीक्षणका लागि प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। तर दुईवटा प्रयोगशालाबाट अलग–अलग रिपोर्ट आयो। कोशी अस्पतालको प्रयोगशालाबाट पोजेटिभ र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि बीपी प्रतिष्ठानले मृतकको शव दाहसंस्कारका लागि परिवारका सदस्यको जिम्मा लगाएर विराटनगर पठायो।

प्रदेश १ का दुईवटा प्रयोगशालाको पीसीआर रिपोर्ट फरक–फरक आए पनि परिवारका सदस्यले उनको शव बुझेर ल्याए र अत्येष्टी गरे। कोरोना भाइरसले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर सरकारले जारी गरेको कार्यविधि विपरित ठूलो संख्यामा मलामी लगेर ती पुरुषको शवको अन्तिम संस्कार गरियो।

मृतक विराटनगरका व्यापारी हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार ती पुरुषको मृत्यु कोरोनाकै कारण भएको पुष्टि गरेपछि अन्तिम संस्कारमा सहभागीहरु अहिले तनावमा छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्