Logo

लकडाउन नै अचुक उपाय होइन, अब हामी सन्तुलित भएर जानैपर्छ : डा. शेरबहादुर पुन



शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना संक्रमण आगामी दिनमा बढ्ने प्रक्षेपण गरेका छन् । कोरोना रोक्ने विधि नबनाए र कार्यान्वयन नगरे संक्रमण बढ्नसक्ने सम्भावना उनले औंल्याएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. पुनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमणको कुरा गर्दाखेरि महामारीको सम्भावना देखिएको हो उपत्यकामा अथवा देशभरि, प्रदेश नम्बर २ मा ?

आगामी दिनमा यो बढ्ने क्रममा छ । कोरोना रोक्ने विधि बनाएनौँ र कार्यान्वयन गरेनौँ भने त्यो बढ्नसक्ने सम्भावना छ ।

तपाईहरूको रणनीति किन असफल भयो ?

रणनीति बनाउने काम त सम्बन्धित विज्ञहरूले गर्नुभयो । नागारिकहरूका लागि सचेतनाका कुराहरू हामीले भन्दै आएका छौँ ।

जनताले पालना गरेनन् भन्न खोज्नुभएको हो ? त्यसमा नागरिक दोषी हो ?

यहाँ दुबै पक्ष नमिली नहुने मेरो ठम्याई छ । अमेरिकाको एउटा सानो उदाहरण भन्ने हो भने त्यहाँ सायद विश्वकै धेरै अस्पतालहरू पनि होलान् । तर मलाई लाग्छ, त्यहाँको राष्ट्रपतिले मास्क लगाउनुपर्छ भनेर भनेको धेरै भएको छैन । त्यहाँ धेरै मानिसहरूले किन लगाउने, के लगाउने भनेर बेवास्ता गरेको देखिन्छ । अहिले उपचारको लागि भ्याक्सिन, औषधी पनि छैन । हामी कमसे कम कोशिस त गरौँ भनिरहेका छौँ ।

अब लकडाउनमा जाने कि नजाने ? तपाईको सुझाव के छ ?

लकडाउन हामीले अनुभव गरिसकेको ३ महिना, मैले भारतको पनि हेरेको थिएँ, तर लकडाउन नै अचुक उपाय होइन । अब हामी सन्तुलित भएर जानैपर्छ । हामीले कमसे कम सामान्य कुराहरू त पालना गर्नुपर्छ । लकडाउन हुँदा पनि लुकिछिपी आवातजावात त चलेकै थियो । लकडाउन भनेको भारतको जुन सिमाना छ, त्यो ठाउँमा कसरी नियन्त्रण गर्ने भन्ने कुरा राम्रोसँग गर्नुपर्छ । मानिस उताबाट आउँदा यसले कसलाई घाटा बनाउँछ, त्यो थाहा पाउनुपर्छ । अर्को कुरा हाम्रो ३ महिना लकडाउन हामीले राम्रोसँग अध्ययन गरेर लागू गर्नुपर्ने थियो । हामी लकडाउन गर्ने भनेर लाग्यौँ । छोटो समयमा कार्यान्वयन गर्न सक्ने गरी भयो भने ठिक छ । भारतबाट आवातजावात रोकिएन भने कोरोना भाइरसको संक्रमण शून्यमा जाला र हामी ढुक्कले बसौँला भन्न सकिन्न ।

मास्क नलगाई हिँड्नेहरू पनि धेरै छन् । कारबाही भएको छैन । सरकारले घोषणा मात्र गरेको छ ?

मैले पनि बाटोमा धेरै मानिसहरूलाई देख्छु । यो मापदण्डमा हामी जति अत्तेरी गर्दै जान्छौँ, त्यसले संक्रमणतिर ढकेल्दै संक्रमितको संख्या बढाउने हो ।

त्यसो भए सार्वजनिक यातायातहरू चलाउनु हुन्न भन्ने पक्षमा हो तपाईहरू ?

होइन, त्यो पनि होइन । बसहरू चलाउन सकिन्छ तर सतर्कता अपनाउनुपर्छ । नियमको पालना गर्नुपर्छ । सम्बन्धित निकायबाट भनेका कुरा हामीले कति ग¥यौँ तर भनेका कुरा गर्दै गर्दैन भने निकायको के लाग्छ भन्ने मेरो भनाई हो । कार्यान्वयन गरियो भने सहज रूपमा त्यो कुरा होला । कमसे कम आजको अवस्था विपतको अवस्था छ भनेर त्यही अनुसार गर्दै गयो भने हामी लड्न पक्कै पनि सक्छौँ । म फेरि पनि भन्छु, लकडाउन अन्तिम उपाय हुँदै होइन । यो निश्चित कुराको लागि हामी गर्न सक्छौँ तर गएको ३ महिना हामीले जे जस्तो देखेका छौँ, त्यसको आधारमा कहाँनेर हाम्रो कमजोरी भयो भनेर समीक्षा नगरिकन हामी अगाडि बढेर यो बन्द गरौँ, त्यो बन्द गरौँ भन्ने तरिकाले गयौँ भने त्यो उपयुक्त हुँदैन । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्