Logo

विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा



बेइरुत, साउन २७ । गत मंगलबार दुई सय जना भन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण लेबनानमा जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन्।

राष्ट्रिय टेलिभिजनमार्फत् सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन्।

लेबनानीहरूले सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाएका छन्।आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए। उनीहरूको प्रहरीसँग झडप भएको थियो।

वर्षौँदेखि बेइरुतस्थित बन्दरगाहमा असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनीअम नाइट्रेटका कारण उक्त विस्फोटन भएको थियो।

राष्ट्रपति मीसेल आउनले नयाँ सरकार नबनुन्जेल कामचलाउन सरकारका रूपमा अहिलेकै सरकारलाई काम गर्न भनेका छन्।

बीबीसीका अनुसार उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्