Logo

गोंगबु हत्या प्रकरण: ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’



काठमाडौं, २७ साउन । गोंगबुमा शनिबार साँझ भएको हत्याकी अभियुक्त कल्पना मुठभरी पौडेलले हत्या गर्नुको कारण खुलाएकी छिन् । उनले प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको बयान दिएकी छिन् ।

अपराध महाशाखाका एसएसपी दिपक थापाले बोहराले नक्कली फेसबुक आइडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै हत्या गरेको बयान दिएको खुलाएका छन् । बोहराले आफ्नो इच्छाबमोजिम चल्न कल्पनालाई वाध्य पारेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सार्वजनिक गर्दै दुःख दिन थालेको झोकमा हत्या गरेको भनेकी छिन् ।

हत्या गर्नुअघि शुरुमा बेहोश पार्ने औषधी खुवाएको र घाँटी थिचेर हत्या गरेको बयानमा भनेकी छिन् । त्यसपछि शव व्यवस्थापन गर्न हतियारको प्रयोग गरी टाउको र खुट्टा समेत अलग गरी सुटकेशमा राखेकी थिइन् । राति नै सुटकेशमा राखेको शव फालेकी थिइन् ।
यसअघि आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको थियो । कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । तर, कल्पना केही समय देखि पतिबाट अलग बस्दै आएकी छिन् ।

उनीहरु फेसबुकमार्फत् चिनजानमा आएका थिए । शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको हत्या गरेको उनको बयान उदृत गर्दै प्रहरीले जनाएको छ ।
हत्यापछि महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो ।

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेका थिए । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले आफूलाई दुःख दिएपछि असह्य भई हत्या गरेको बयानमा भनेको प्रहरीले जनाएपनि थप अनुसन्धान जारी रहेको बुझिएको छ । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्