Logo

गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने



काठमाडौं, २७ साउन । आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि कोरोना भ्याक्सिन प्रयोगमा ल्याउँदैछ । चीनले कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गरिरहेका सैनिकहरुमा प्रयोग शुरु गरिसकेको छ ।

अमेरिकाले कम्तिमा सन् २०२१ भित्र कोरोना भ्याक्सिन तयार गरी प्रयोगमा ल्याउने तयारी गरेको छ । युरोपमा पनि अक्सफोर्ड एक्सट्राजेनेकाको भ्याक्सिन विकास हुँदैछ । सन् २०२१ भित्र भ्याक्सिन प्रयोगमा ल्याउने महत्वाकांक्षी योजना अनुसार काम भइरहेको छ । तर, आर्थिक रुपमा पछाडि परेका देशहरुका लागि भ्याक्सिन यो वर्ष त के सन् २०२१ सम्मको अन्तसम्ममा उपलब्ध हुनेमा शंका व्यक्ति गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ ।

डब्लुएचओले सोमबार प्रेस ब्रिफिङमा कोरोना भ्याक्सिन विकास र सँसारभरका मानिसहरुका लागि उतिनै पहुँचको निमाण गर्न मात्र कम्तिमा एक खर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । तर, अहिलेसम्म दश प्रतिशत रकम पनि नउठेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोज गेब्रिएससले सोमबार पत्रकार सम्मेलनमा आवश्यक एक खर्ब डलरमध्ये दश प्रतिशत रकम पनि नउठेको जानकारी दिएका हुन् ।

भ्याक्सिनको लागि मात्र आवश्यक पर्ने एक खर्ब डलर सँसारका २० धनी मुलुकहरुले कोरोना महामारीको जोखिमसँग जुध्न १० खर्ब डलर खर्च गरिसकेकाले कोरोना भ्याक्सिन सँसारभरका मुलुकमा सहज तरिकाले उपलब्ध गराउन गर्नुपर्ने खर्च तुलनात्मक रुपमा निकै कम भएको टिप्पणी गरेका छन् । डब्लुएचओले कोषमै समस्या भएको जनाउनुलाई अर्थपूर्ण मानिएको छ ।

कोरोना भ्याक्सिनको मुल्य महङ्गो पर्ने भएकाले विश्वका सबै देशले प्रयोगमा ल्याइहाल्न मुश्किल पर्न सक्छ । गरिब देशहरुका लागि सन् २०२१ मै कोरोना भ्याक्सिन प्राप्त गर्न कठिन हुने यसबाट पनि प्रमाणित भएको छ ।-एजेन्सीको सहयोगमा (Photo Source: Agency)



प्रतिक्रिया दिनुहोस्