Logo

गोर्वाचोभपथमा ओली



दीपेश केसीः नेपाल कम्युनिस्ट पार्टी फुटाउने चौतर्फी चलखेल अझ प्रभावकारी बन्दै गएको छ । विभाजन जोगाउन पार्टीका दोस्रो पुस्ताका नेताहरु देखि सत्ताभन्दा देश र पार्टी नै ठुलो हो भन्ने अन्तरमनमा भएकाहरु लागिपरेका छन् । तर, सत्ता र शक्ति नै सबथोक हो म नै सबथोक हुँ भन्ने सोच हावी भएका नेताहरुका कारण फुटको चलखेल सार्थकतातर्फ बढिरहेको छ । यो चलखेल केवल नेकपामाथि मात्र केन्द्रित छैन, कम्युनिस्ट शक्तिलाई नै नेपालबाट बडार्ने गरी योजनावद्ध तरिकाले भइरहेको छ । जसलाई केपी शर्मा ओलीले सबैभन्दा बढी नजरअन्दाज गरिरहेका छन् ।

ओलीले म जत्तिको नेता यो देशमा जन्मिएकै छैन भन्ने भ्रम पाल्न थालेका छन् । आफूलाई देशमा अहिलेसम्म जन्मिएका नेपालीमध्ये ठुलो राष्ट्रवादी दाबी गर्न थालेका छन् । ओलीलाई यस्तो ठान्ने बनाउन निकटस्थहरुले भुमिका खेलिरहेका छन् । उनलाई दिग्भ्रमित पार्नेमा उनकै सल्लाहकारहरु लागिपरेका छन् । यतिसम्मकी ओलीले समकालीन विश्वमा म जत्तिको नेता अरु कोही छैन भन्नथालेको खबरहरु बाहिर आएका छन् । ओलीले लामो संघर्ष गरेर अहिलेको स्थान बनाएकोमा कुनै शंका छैन । सामान्य पारिवारिक पृष्ठभुमिबाट संघर्षको लामो कालखण्ड हुँदै जेलनेल भोगेका ओलीमा राजनीतिक परिपक्वताको आशा गरिएको थियो । उनी सत्तामा पुग्दा सामान्य जनताले पनि केही राहत मिल्ने महशुश गरेका थिए । उनले राष्ट्रियता र जनजीविकाको सवालमा महत्वपूर्ण योजनाहरु पनि सारेका थिए । तर, जब देशमा संकट आइप¥यो, पार्टी संकटमा पर्यो तब ओलीको क्षमता र कार्यशैलीको वास्तविक परीक्षण भयो । सुनको शुद्धता आगोमा राखेपछि मात्र थाहालाग्छ । ओलीको वास्तविकता संकटमा देखिदै गयो । संकट समाधान र चुनौतीमा संयमता अपनाउन ओली असफल देखिए । फलस्वरुप देश महामारीसँग जुधिरहँदा उनका कदमहरु देश र पार्टीको हितमा देखिएन । बरु आफ्नै सहकर्मीलाई अप्ठ्यारोमा पार्दै सत्ताको आयु लम्ब्याउनेतर्फ समय र चिन्तन खर्चिए । एकपछि अर्को दिशातर्फ ध्यानाकर्षण गर्न अनेकन फण्डाहरु निकालिरहे ।

ओलीले शुरुमा माधवकुमार नेपाललाई निकै अप्ठ्यारोमा पार्दै लगे । यतिसम्मकी नेपालले भित्तामा पु¥याएको महशुश गरे । बालुवाटार बैठकमै नेपालमाथि गम्भीर आरोप लगाए । त्यतिबेला प्रचण्डसँग मिलेर नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र अर्का नेता बामदेव गौतमलाई निरिह बनाइदिए । शक्ति विस्तार गर्दै लगेपछि उनले प्रचण्डलाई पनि बेवास्ता गर्न थाले । यतिसम्मकी प्रचण्ड विगतमा आधा आधा प्रधानमन्त्री बन्न गरेको जेन्टलमेन्ट सहमतिबाट पछि हट्न वाध्य भए । दश वर्ष लामो जनयुद्ध लडेर राजनीतिक मुलधारमा आएका प्रचण्डले कम्युनिस्ट एकताका लागि जुन त्याग गरेका थिए त्यसलाई उनको कमजोरी सम्झेर ओलीले प्रहार गर्न थाले ।

त्यसैले गत हप्ता प्रचण्डले सिमित पत्रकारहरुलाई डाकेर गरेको ब्रिफिङमा आफूमाथि सरप्राइन्ड एट्याक भएको टिप्पणी गरे । जनयुद्धको अनुभव सुनाउँदै भने, ‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्धि जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो । र उसले घेरा हालेर सरप्राइज्ड एट्याक गर्दा हामीले क्षति व्यहोर्नुपथ्र्यो ।’ प्रचण्डको यो भनाई आफैमा विचारणीय छ । उनले फेरि अगाडि भनेका छन्, ‘एक दुईवटा क्षति व्यहोरिसकेपछि फेरि हामी राम्रो तयारी गर्ने, राम्रो तालिम लिने, राम्रो रेकी गर्ने, राम्रो हातहतियार व्यवस्था गर्ने रणनीति कार्यनीति बनाउँथ्यौं र जित्थ्यौं ।’

आफू घेराबन्दीमा परेको प्रचण्डको स्वीकारोक्तिसँग फेरि राम्रो तयारी गरेर घेराबन्दी तोडेको बताएका छन् । यो भनेको उनी अब ओलीले गरेको घेराबन्दी तोड्ने अवस्थामा छन् भन्ने हो । ओलीले घेराबन्दी अझ मजबुत पार्न उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलको साथ लिएका छन् । छ बुँदे एकताको प्रस्ताव बामदेवमार्फत् ओलीले नै सार्वजनिक गर्न लगाएका हुन् । यो चार्तुयताबारे प्रचण्डलगायतको समुह जानकार भएकैले गत हप्ता सिधै भैंसेपाटी पुगेर कित्ता स्पष्ट पार्न भनेका थिए । जवाफमा गौतमले आफू कुनै सानो ठुलो गुटमा नभएको जवाफ दिए । वास्तवमा बामदेव ओलीले देखाएको लोभमा फेरि फसिसकेका छन् । भविष्यमा ओलीले प्रधानमन्त्री बनाइदिने र एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष बनाइदिने आश्वासनमा गौतम मख्ख परेका छन् । तर, अडानमा टिक्न नसक्ने र स्वार्थ पूरा भयो कि गुट परिवर्तन गरिहाल्ने बामदेवको स्वभाव अझ खुलेको छ । ओलीलाई राजीनामा दिन वाध्य पार्ने गरी तयार भएको समुहमा बामदेव गौतम जोडिएपनि माधव नेपालले उनको विश्वास गर्न नसकिने भन्दै आएका थिए । केही राजनीतिक लेनदेनकै कारण बामदेव अहिले छ बुँदे अगाडि सारेर ओलीसँग नजिक भएका छन् ।

प्रचण्डले माओवादी छाडेर गएका र पुनः फर्किएका रामबहादुर थापा बादललाई बढी महत्व दिंदाको झड्का व्यहोरेका छन् । असजिलो समयमा बादलले प्रचण्डलाई साथ दिएनन् । उनी पनि ओलीकै नजिक पुगेका छन् । यो घटनाक्रम विकास भएसँगै नेकपाभित्र ओलीमाथि बढिरहेको दबाब कमजोर बनेको छ । एकता कायमै रहने गरी सबैले केही न केही त्याग गर्नैपर्ने अवस्था सृजना भइसक्नेमा त्यसमा लगभग पूर्णविराम लागेको छ । पदका लागि मेरो गोरुको बाह्रै टक्का गर्दा कम्युनिस्ट नेता सत्तालोलुप रहेछन् भन्ने सन्देश प्रवाह भएको छ । यसरी विकसित भइरहेको घटना नेपालको कम्युनिस्ट शक्तिका लागि लागि शुभ संकेत होइन । कम्युनिस्ट पार्टीमा व्यक्ति विशेष भन्दा पनि पद्धति र अनुशासन प्रधान हुनुपर्ने भनिदै आएपनि व्यक्तिलाई सर्वेसर्वा बनाउने परिस्थिति विकासमा जिम्मेवार नेताहरु नै सक्रिय भएका छन् । यसले नेकपामाथि षड्यन्त्र गर्नेहरुको हात माथि परेको छ । कम्युनिस्ट बडार्न योजनावद्ध तरिकाले लागेकाहरु सबैभन्दा बढी ओलीलाई नै साथ दिइरहेका छन् । राज्य संयन्त्र मेरो कब्जामा छ र मलाई राज्यको मुख्य संयन्त्रका प्रमुखहरुले साथ दिइरहन्छन् भन्नेमा ओली ढुक्क छन् । तर, उनले साथ पाउनुको पछाडिको कारणतर्फ ध्यान दिएका छैनन् ।

कम्युनिस्ट पार्टी शक्तिशाली बनेर सत्तामा रहँदा अन्तगत्वा बडारिनुपरेको सँसारका धेरै उदाहरणहरु छन् । यसमा कम्युनिस्ट सिद्धान्त कारण नभई नेतृत्वको असक्षमता र आफ्नै पार्टीका कमरेडहरुलाई सिध्याउन खोज्नु मुख्य कारण रहेको छ । रुसमा दशकौं एकछत्र शासन गरेको रुसी कम्युनिस्ट पार्टी मिखायल गोर्वाचोभको कारण बर्बाद भयो । अहिले रुसमा कम्युनिस्ट पार्टी सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरु पनि नेतृत्वकै कार्यशैलीका कारण बडारिए । छिमेकी भारतको पश्चिम बङ्गालमा झण्डै चार दशक शासन गरेका कम्युनिस्टहरु अहिले इतिहासकै कमजोर अवस्थामा छन् । बङ्गालको सत्ता उनीहरुका लागि धेरै टाढाको विषय बनेको छ । यसमा पनि नेतृत्वको कमजोरी नै कारण बन्यो । कम्युनिस्ट विरोधीले योजनावद्ध तरिकाले षड्यन्त्र गर्दा षड्यन्त्रकारीकै लहलहैमा लाग्दा गोर्वाचोभले रुसलाई इतिहासकै संकटमा पुर्याएका थिए । शुरुमा उनले अमेरिकाको सामना गरेको देखिन्थ्यो तर अमेरिकाको हितका सारथी बन्न पुगे । गोर्वाचोभ शैली ओलीमा पनि हावी देखिएको छ । ओलीको कार्यशैली देश र नेकपा पार्टीलाई नै संकटमा पार्न उद्धत रहेको देखिन्छ ।-दृष्टि साप्ताहिकमा प्रकाशित लेखको साभार (File Photo)



प्रतिक्रिया दिनुहोस्