Logo

कस्तो रह्यो, आइजीको एक महिना ?



काठमाडौं, २७ साउन । २२ महिनाका लागि नेपाल प्रहरीको महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको एक महिना पुगेकै दिन आइतबार आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । उनले १४ वटा कार्ययोजना सार्वजनिक गरी त्यसलाई कार्यान्वायनमा लैजान १५७ बुँदे रणनीति बनाएका छन् ।

यसअघि सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षकका प्राथमिकता भनेर योजना सार्वजनिक गरेका थिए । जसकारण अन्य प्रहरीले त्यसको अपनत्व महसुस गरेनन् । अहिलेका महानिरीक्षकले नेपाल प्रहरीको कार्ययोजना भनेर सार्वजनिक गरेको बुँदा जसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

त्यसो त एक महिनाको अवधिमा उनले केही महत्वपूर्ण सफलता प्राप्त गरेका छन् । उनले पहिलो सफलता एआइजी बढुवामा पाए । जुनियर डिआइजी विश्वराज पोखरेलले सबै शक्तिकेन्द्रमा सेटिङ मिलाएकाले नीरज शाही र प्रद्युम्न कार्कीमध्ये एक छुट्ने सम्भावना थियो । गृहमन्त्री र प्रधानमन्त्रीलाई यसको सम्भावित असरबारे जानकारी गराएर उनले वरिष्ठताकै आधारमा बढुवा गराउन सफल भए । यसबाट प्रहरीको बढुवामा भत्किन लागेको बेथितिलाई सच्याउने काम भएको छ । यसमा महानिरीक्षक क्षेत्रीले निकै मेहनत गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनको दोस्रो सफलता भनेको विगतमा जस्तो गुटबन्दी गर्ने ठाउँ संगठनमा दिएका छैनन् । आइजिपीका अर्का प्रतिस्पर्धीलाई प्रहरी एकेडेमी पठाउने चलन थियो । तर, प्रतिस्पर्धी रहेका एआइजी हरिबहादुर पाललाई उनले कार्य तथा अपराध अनुसन्धान विभागमै राखेका छन् । सबैको सल्लाहबाट निर्णय गर्ने परिपाटी उनले सुरु गरेका छन् । यसले प्रहरीमा गुटबन्दी रोकिएको छ भने, नेतृत्वमा एकता देखिएको छ । धेरै वर्षपछि नेतृत्वमा एकता देखिएको प्रहरीहरु बताउँछन् । त्यसो त आइजिपीका प्रतिस्पर्धी रहेका पालले पनि आइजिपीलाई सहयोग गरेका छन् ।

संयोग नै मान्नुपर्छ उनको एक महिना कार्यकालमै विगतमा अन्यायमा परेका प्रहरीले न्याय पाएका छन् । निर्मला पन्तको हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि दबाबको भरमा मुद्दा दायर भएको थियो । ती सबै प्रहरीले सफाइ पाएका छन् । अब निर्मला प्रकरण अनुसन्धानका लागि बाटो खुलेको छ । साथै, प्रहरीको खरिदलाई पारदर्शी बनाउने उनको प्रयास छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले सबै ठेकदारहरुसँग छलफल गरी ठेक्का प्रक्रिया पूर्णरूपमा निष्पक्ष हुने र गुणस्तरीय सामान प्रहरीले बेच्न आग्रह गरेको छ ।

‘अहिलेसम्म प्रहरी महानिरीक्षकज्यूको कार्यशैली सकारात्मक देखिन्छ’, एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘अबका दिनमा प्रहरी सरुवा, बढुवादेखि प्रहरी समायोजनसम्मका काममा उहाँको नेतृत्व क्षमतोका खास परीक्षण हुनेछ ।’

आइतबार कार्ययोजना सार्वजनिक गर्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरीलाई पेशागतरूपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनका रूपमा विकास गरिने बताएका छन् । साथै उनले विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतासमेत गरेका छन् । कार्यसम्पादनलाई जिल्लासम्म पु¥याउन लागिएको छ ।

महानिरीक्षक क्षेत्रीको मुख्य चुनौती भनेको अहिलेको विषम परिस्थतिमा प्रहरीको मनोबल खस्कन नदिनु हो । कोरोनाको हटस्पटमा कार्यरत प्रहरीले न्यूनतम सुविधासमेत पाएका छैनन् । यस्तो अवस्थामा प्रहरीको सुविधा वृद्धिमा ध्यान दिएर प्रहरीको मनोबल उच्च राख्नु नै तत्कालको चुनौती हो । दृष्टिबाट /File photo



प्रतिक्रिया दिनुहोस्