Logo

चिनियाँको सम्पत्ति प्रहरीको घरमा



काठमाडौं, २७ साउन । गत पुस महिनामा काठमाडौंमा चिनियाँ नागरिकमाथि भएको एउटा विस्तृत प्रहरी अप्रेसनको अन्तर्राष्ट्रिय रुपमै चर्चा भयो । यसका दुई कारण थिए । पहिलो पक्राउ परेका चिनियाँहरु घर भाडामा लिएर गोप्यरूपमा करोडौंको अवैध धन्दा गर्दै आएको खुल्यो । दोस्रो उनीहरुलाई चीनले जहाज नै चार्टर गरेर लगेको थियो ।

यो अप्रेसन नेपालमा भने विवादास्पद बन्यो । किनकि आँकलन गरिएभन्दा थोरै मात्र चिनियाँ पक्राउ परे । अर्कोतर्फ गिरोहका नाइकेहरु रहस्यमय तरिकाले भाग्न सफल भए । गिरोहमै आबद्ध व्यक्तिहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेको तथा उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत सम्पर्क देखिएपछि उनीहरुलाई नेपालमा उच्च व्यक्तिहरुबाटै संरक्षण गरेको चर्चा थियो ।

सो अप्रेसनमा प्रहरीबाट समेत चलखेल भएको खुलेको छ । स्रोतका अनुसार चिनियाँबाट बरामद कतिपय सामानहरु प्रहरीले नै हिनामिना गरेका छन् । त्यतिबेला अप्रेसनमा विभिन्न निकाय संलग्न भएपनि बरामद सामानको मुचुल्का उठाउने प्रहरीहरु महानगरीय प्रहरी परिसर काठमाडौंका थिए ।

त्यतीबेला बरामद भएका ल्याबटप लगायत कतिपय सामान प्रहरीले गायब बनाएको स्रोत बताउँछ । ती मध्ये कतिपय सामान प्रहरीको घरमा पुगेको छ । त्यतिबेला काठमाडौं प्रहरीको प्रमुख उत्तम सुवेदी थिए । सुवेदी डिआईजीमा बढुवा भएर सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् ।

प्रशासन शाखाका इन्सपेक्टर अनिल अधिकारीदेखि कार्यालय प्रमुखसम्मको मिलेमतोमा सामानहरु गायब भएको स्रोत बताउँछ । घरधनीले घर खाली गर्न भनेपछि प्रहरीले त्यहाँ भएका विद्युतीय सामानदेखि वासिङ मेसिन, फ्रिजसमेत लगेको थियो । त्यसमध्ये कतिपय सामान कार्यालयमा प्रयोग गरिएको छ भने केही प्रहरीले घरमा लगेका छन् । पक्राउ परेका उपर नेपालमा अनुसन्धान नै नगरी चीन लगिएकाले उनीहरुको सामानमा प्रहरीले मस्ती गरेको हो । चिनियाँ दूतावासले पनि त्यसमा चासो दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्