Logo

जीप दुर्घटनामा दुईको मृत्यु, छ जना घाइते



पाल्पा, २८ साउन। पाल्पाको निस्दीमा मङ्गलबार बेलुकी जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो ।
निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहनुभएको छ ।

त्यस्तै निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरी हवल्दार यादवले जानकारी दिनुभयो ।

सडक भाँसिएर जीप दुर्घटनामा परेको निस्दी–४, का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । जिप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् । जिपमा सवारी चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्