Logo

लकडाउन हुने/नहुने भन्ने कुरा संक्रमणको स्थिति हेरेर हुन्छ : सचिव महेन्द्रप्रसाद गुरागाँई



प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाँईले लकडाउन हुने वा नहुने भन्न कुरा कोरोना संक्रमणको स्थिति हेरेर निर्धारण गरिने जनाएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव गुरागाँईले यस्तो बताएका हुन् । उनले संक्रमण बढेकोले शैक्षिक संस्थाहरुलाई अनिश्चितकालका लागि स्थगित् गरिएको स्पष्ट पारे । उनले भनेका छन्,रोग नियन्त्रण भईसकेपछि खुल्छ भन्ने हिसाबले निर्णय गरिएको हो । भदौ १ गतेदेखि विद्यार्थीहरूको भर्ना, अभिलेखीकरण गर्ने र अलिकति नियन्त्रण भदौभरिमा भयो भने विद्यालयहरू सञ्चालनमा आउँछन् भन्ने हिसाबले भर्नालाई खुल्ला गरिएको थियो । तर अहिले बीचमा संक्रमण यति धेरै बढ्न थाल्यो । भदौ १५ सम्मको लागि स्थगित नै राख्नुपर्छ भनेर त्यो निर्णय गरिएको छ । प्रस्तुत छ सचिव गुरागाँईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईहरू अहिले के-के गर्दै हुनुहुन्छ ?

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको प्रतिनिधित्वमा अहिले बढिरहेको कोभिडको संक्रमणलाई नियन्त्रण गर्न १२÷१३ ओटा बुँदाहरूमा कडाइका व्यवस्थाहरू गर्नुपर्छ भनेर सिफारिस गरेको थियो । अस्तिका निर्णयहरू पालना भएर आएका छन् ।

के के छन् निर्णयहरू ?

सरकारी कार्यालयमा हुने कामहरूका लागि ५० प्रतिशत कर्मचारीहरू उपस्थित हुने र अरू अनलाइन, भर्चुअल सम्पादन गर्ने कामहरूलाई कार्यसम्पादन गर्ने र त्यस्तै गरेर घरबाटै हुन सक्ने कामहरूलाई वर्क फ्रम होमको व्यवस्था लागू गर्नका लागि सबै बंैक, वित्तीय संस्थाहरूलाई व्यवस्था मिलाउने निर्णय गरेको छ, एउटा । भीडभाड हुने, बैठक, सेमिनार बढी हुने स्थानहरूमा क्रियाकलापहरू नगर्ने, नगराउने गरी निर्णय गरिएको छ । फुटपाथका पसलहरूमा भीडभाड बढेको हुनाले त्यस्ता किसिमका कामहरूलाई पनि केही समयका लागि रोक लगाउने व्यवस्था भएको छ । भदौ १ गतेदेखि लामो दुरीको यातायात खुल्ने श्रावण ४ गतेको निर्णयको सम्बन्धमा सबै व्यवस्थाहरू भदौ १५ गतेसम्मको लागि स्थगित गर्ने भन्ने निर्णय भएको छ । त्यसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरिएको छ ।

शैक्षिक संस्थाहरू अनिश्चितकालीन बन्द गरिएको हो ?

रोग नियन्त्रण भईसकेपछि खुल्छ भन्ने हिसाबले निर्णय गरिएको हो । भदौ १ गतेदेखि विद्यार्थीहरूको भर्ना, अभिलेखीकरण गर्ने र अलिकति नियन्त्रण भदौभरिमा भयो भने विद्यालयहरू सञ्चालनमा आउँछन् भन्ने हिसाबले भर्नालाई खुल्ला गरिएको थियो । तर अहिले बीचमा संक्रमण यति धेरै बढ्न थाल्यो । भदौ १५ सम्मको लागि स्थगित नै राख्नुपर्छ भनेर त्यो निर्णय गरिएको छ ।

अब यातायातका साधनहरू गुड्दैनन् ? रिक्साहरू चल्न पाउँदैनन् ? ठेलागाडाहरू चल्दैनन् ?

ठेलागाडा, साइकलहरूले पनि समस्या निम्त्याएको देखियो । यातायातका साधनहरू अन्तर्जिल्ला सञ्चालन गर्दाखेरि पनि धेरैतिर संक्रमण फैलिने हुनाले अहिले स्थगित राखिएको हो । २०० भन्दा बढी धेरै संक्रमित भएका जिल्लाहरूको अन्यत्र जाने काम पनि बन्द गर्नुपर्छ भन्ने निर्णयमा सरकार गएको छ । यसले समुदायमा फैलावट गर्छ भन्ने हिसाबले यस्तो निर्णय लिइएको हो । हामी सर्वसाधारण सबैले स्वास्थ्यको मापदण्ड पालना गरेर सरकारका निर्णयहरूलाई सबैले साथ दिएर पालना गरियो भने यो रोग छिटै नियन्त्रणमा आउँछ । नियन्त्रण छिटै हुनु भनेको हामी खुकुलो हुँदै जाने र अरू कामहरू गर्दै जाने भन्ने हिसाबले आधार लिएर ती व्यवस्थाहरू गरिएका छन् । त्यसलाई साथ दिनुपर्ने आवश्यकता छ ।

सार्वजनिक यातायातको कुरा गर्दाखेरि काठमाडौँमा चलिरहने हो कि चलाउनुहुन्न अब ?

जोर विजोर गरेर आधा मात्र चल्ने व्यवस्था गरिएको छ । जिल्लाभित्रका अत्यावश्यक साधनहरू, बसहरू मापदण्ड पालना गरेर जति क्षमता छन्, त्यसको आधा हुने गरी अहिले चल्न पाउनेछ । त्यसरी रोक लगाइएको छैन, जिल्लाभित्रको हकमा । काठमाडौँको हकमा जिल्लाभित्र मात्र चल्ने व्यवस्था गरिएको छ ।

अब अस्पतालको व्यवस्थापन तपाईहरूले गर्नैपर्छ । प्रदेश नम्बर २ मा त अहिले समस्या धेरै देखिएको छ । त्यतातिर तपाईहरूको ध्यान जानुपर्छ कि पर्दैन् ?

अलिकति प्रदेशको हिसाबले हेर्दा जनसंख्याको घनत्व पनि बढी भएको र प्रकोपको क्षति पनि त्यहीँ बढी भएको हुनाले अलिकति जटिल अवस्था रहेको छ । निजी अस्पतालका स्रोतसाधनहरू प्रयोग गर्ने र स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहलाई गृहमन्त्रालयबाट पठाएर त्यहाँको व्यवस्थापनको लागि पहल पनि भएको थियो । धेरै विरामीहरू हुने र नअटाउने अवस्था भएको हुँदा क्वारेन्टाइनमा भएका राम्रा ठाउँहरूलाई आइसोलेसन, व्यक्तिका घरहरूमा बस्न पनि अनुकुल छैन, त्यस्ताका लागि आइसोलेसन सेन्टरको पनि व्यवस्था गर्ने र स्थानीय स्वास्थ्यकर्मीहरूको निरीक्षणमा राख्ने गरी व्यवस्था गरिएको छ । त्यसको लागि साधन र स्रोत पनि पठाइएको छ । उहाँहरूले त्यसमा पहल पनि गरिरहनु भएको छ ।

अब लकडाउनले निरन्तरता पाउँदैन ? अब लकडाउन हुँदैन ?

लकडाउन हुने/नहुने भन्ने कुरा संक्रमणको स्थिति हेरेर हुन्छ ।

संक्रमितको संख्या त प्रत्येक दिन बढिरहेको छ,  सरकारको तयारी के छ ? 

धान्नै नसक्ने स्थिति नआओस् भनेर हामी सबै सरोकारवालाहरू र नागरिकले पनि दायित्व निर्वाह गर्नुपर्ने र आफै सुरक्षित बसिदियो भने मात्रै यो रोगको नियन्त्रण हुने देखिएको छ । आफु सुरक्षित हुनु भनेको परिवार सुरक्षित, परिवार सुरक्षित हुनु भनेको समुदाय सुरक्षित, समुदाय सुरक्षित हुनु भनेको जिल्ला सुरक्षित र जिल्ला सुरक्षित हुनु भनेको देश सुरक्षित हुनु हो । यसमा हामीले पहल गर्नुपर्नेछ । सबैतिर फैलिएर धान्नै नसक्ने स्थिति आयो भने लकडाउनभन्दा पनि कसैलाई कहीकतै पठाउन नसकिने अवस्था आउन सक्छ । हामी नै सजक र सतर्क हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्