Logo

स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्तिप्रति सांसदहरुको आपत्ती



साउन २८, काठमाण्डौ । सांसदहरुले सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमा अभिव्यक्त गरेको भनाईप्रति आपत्ती जनाएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले सरकारको कमजोरी लुकाउन मन्त्रीहरुले अरुमाथि आक्षेप लगाउने गरेको आरोप समेत लगाए ।

बैठकमा सांसद देवेन्द्रराज कडेलले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना गरेका थिए । “पहिले त स्वास्थ्यमन्त्रीको मति सही छ कि छैन त्यो हेर्नुपर्यो । हामी सबैको मति बिग्रिएको हो ?” सांसद कँडेलले भने । उनले सरकारले चाहेको जस्तो काम नगर्ने तर आलोचना भने अर्कामाथि थुपर्ने काम गरेको धारणा राखेका थिए ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल कार्यक्रममा मन्त्री ढकालले मति बिग्रिएकाहरुका लागि पनि यो महामारीविरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहेको अभिव्यक्ति दिएका थिए ।

त्यस्तै सांसद यशोधा सुवेदीले पनि सरकारको तर्फबाट बोल्ने व्यक्तिहरुमा लगाम लगाउनुपर्ने तर्क गरिन् । उनले खोसीएका जमिन फिर्ता गर्नुपर्नेमा जनताको घरमाथि आगो लगाउने काममा सरकार व्यस्त भएको तर्क गरेकी थिइन् । तस्विर : मुकुन्द कालिकोटे, रिपार्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्