Logo

कोरोनाविरुद्धको खोपका पश्चिमा आलोचकलाई रुसको जवाफः अंगुर अमिलो छ



मस्को, २९ साउन । कोरोना भाइरस विरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणासँगै अमेरिका लगायत पश्चिमी मुलुकले उक्त महामारी नियन्त्रणका लागि खोप विकसित गर्ने होडमा रुसले हतार गरेको प्रतिक्रिया दिइरहेका छन् । रुसमा विकसित उक्त पहिलो कोरोना खोपको नाम ‘स्पुतनिक भी’ दिइएको छ ।

पश्चिमी देशका विज्ञहरुले रुसी खोपको प्रभावकारिता र सुरक्षा तय नभएको बताउँदै त्यसको विश्वसनियता माथि प्रश्न उठाइरहेका छन् । तर पुटिनले खोपको परीक्षण आफ्नै छोरीलाई समेत गरेको र देशका विज्ञहरुले पनि खोप बनाउनमा कुनै हतार नगरेको दावी गरिरहेको बताएका छन् । उनले खोप कसरी बनेको हो, यति छिटो कसरी तयार भयो र पश्चिमको दावीमा कति सत्यता छ भन्ने विषयमा विस्तार पुर्वक जानकारी दिएका छन् ।

मस्को सिटी हस्पिटल ५२ का डाक्टर सेर्गेइ सोरेन्कोले ती विज्ञहरुको आशंकाका कारण स्वास्थ्य समुदायमा कोविड १९ का विरामीको उपचार गरिरहेकाहरुले प्रश्न उठाइरहेको तर उनीहरु कोरोना भाइरस विरुद्ध खोप तयार हुनेमा आशावादी भएको बताए । कोविड विरामीको उपचारको प्रयास भइरहेको तर गम्भिर मामिलामा केही हदसम्म मात्र सम्भव हुन सक्ने उनले बताए । त्यसैले मृत्यु हुन बाट बचाउन खोप नै सबैभन्दा प्रभावकारी र विश्वसनिय तरिका हो । उनका अनुसार गेमेलिया रिसर्च इन्स्टिच्युटले तयार गरेको खोपमा विश्वास गर्न सकिन्छ ।

स्पुटनिक भीले दुई चरणमा काम गर्छ । पहिलो एडेनोभाइरस हो जसले रकेट केरियरका रुपमा अर्को हिस्सा अर्बिटल स्टेसन नाम दिइएको काविड १९ जिनोमलाई शरीरमा पुर्याउने काम गर्छ । त्यसैले यसलाई स्पुतनिक नाम दिइएको हो । स्पुतनिक पहिलो कृतिम उपग्रह हो जसको अर्थ ‘सहयात्री’ पनि हुन्छ । सोरेन्कोका अनुसार शरीरमा ‘केरियर’ र ‘स्टेसन’ दुबैका विरुद्ध प्रतिक्रिया विकसित हुन्छ तर केही समयका लागि हुन्छ र तीन हप्तापछि अर्को खोपको आवश्यक हुन्छ । रुसका विज्ञहरुले भनेका छन्, जसरी स्पुतनिक स्याटलाइट लन्चले विश्व आश्चर्य चकित भएका थिए, त्यसरी नै यो पटक पनि भएका छन् । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्