Logo

मेयर फोरमलाई जनताको प्रश्नः खै त आइसोलेसन ?



काठमाडौं, २९ साउन । उपत्यकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्ड नभएको कारण आलोचना खेपेको उपत्यकाका नगरपालिका मेयर फोरम आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारीमा जुटेको छ । मेयर फोरमले चार दिनअघि राजधानीमा आयोजना गरेको बैठकमा उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन संघीय सरकारले निर्माण गर्नुपर्ने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्ने निर्णय गरेको थियो । आइसोलेसन नबनाउने निर्णयको विरोध गरेको फोरमलाई जनताको प्रश्न छ– ‘मेयर साब, खै त आइसोलेसन र ?’

देशकै ठूलो काठमाडौं महानगरपालिकामा क्वारेन्टाइन र आइसोलेसन नहुँदा गम्भीर समस्या परेको गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिका र उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु गरेका हुन् । उपत्यकामा कोरोना संक्रमणको कारण अस्पतालहरु भरिभराउ हुन थालेपछि दुई महानगरसहित स्थानीय तह तातेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको दुई स्थानमा आइसोलेसन वार्ड निर्माण गरेको बताउनुभयो ।

उहाँले वागडोलस्थित ज्यापु समाजको भवनमा ५४ र नेपाल युथ फाउन्डेसनको भवनमा ३२ शैय्याको आइसोलेसन निर्माण भएको बताउनुभयो । यसअघि सातदोबाटोस्थित एन्फा खेल मैदानमा स्थापना गरिएको क्वारेन्टाइन खाली गरेपछि दुई स्थानमा तयार गरेको हो ।

तर, देशकै ठूलो र सुविधा सम्पन्न काठमाडौं महानगरपालिकाले आइसोलेसन तयार गर्न सकेको छैन । कामपाका मेयर विद्यासुन्दर शाक्यले संघीय राजधानी भएको काठमाडौमा आइसोलेसन बनाउने काम स्थानीय तहको नभएको जिकिर गर्दै संघले निर्माण गरेको आइसोलेसन र क्वारेन्टाइनलाई स्थानीय तहले व्यवस्थापन गर्ने तर्क राख्दै आउनुभएको थियो । उपत्यकाका केही स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरे पनि काठमाडौं महानगरसँग क्वारेन्टाइन छैन ।

कामपाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महानगरको आफ्नो क्वारेन्टाइन र आइसोलेसन नहुँदा सर्वत्र आलोचना खेप्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मेयर फोरमका अध्यक्ष रहनुभएका कामपाका मेयर विद्यासुन्दर शाक्यले अहिले आइसोलेशन र क्वारेन्टाइन बनाउन नपर्ने भन्दै हिँड्नुभएको छ । मेरो भनाइ सोध्नुहुन्छ भने महानगरले बदनाम कमाउनबाट जोगिन तत्काल आइसोलेसन निर्माण शुरु गर्नुपर्छ ।’

महानगरका थुप्रै खाली भवन, विद्यालय र अन्य संरचना खाली रहेको अवस्थामा तत्काल निर्माण गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । उहाँले मेयरले आफूखुसी क्वारेन्टाइन र आइसोलेसन बनाउन हुँदैन भन्नु गलत भएको बताउनुभयो ।

‘मेयर शाक्यले फोरमको बैठक र पत्रकार सम्मेलनमा आइसोलेसन नबनाउने घोषणा गर्नुभएको थियो । आलोचना हँदै गएपछि बनाउने मुडमा देखिनुभएको छ’ –कामपाका एक उच्च अधिकारीले भने । ‘फोरमले आइसोलेसन र क्वारेन्टाइन बनाउन नहुने धारणा राखेपछि हिजो बुधबारबाट सबै स्थानीय तहमा तयारी गर्ने विषयमा छलफल शुरु भइरहेको छ’ –उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो ।

बाहिरबाट आएका र कोरोना संक्रमण देखिएकालाई राख्न आइसोलेसन र क्वारेन्टाइन बनाउनुको विकल्प नभएको तर्क राख्दै उपमेयर खड्गी श्रेष्ठले भन्नुभयो–‘अब पनि व्यवस्थापन नगरे स्थानीय जनताले हामीमाथि गम्भीर आरोप लगाएर महानगरको विरुद्धमा सडकमा उत्रिनेछन् ।’

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाहिरबाट आएका सबैको जिम्मा लिने काम हाम्रो नभएको तर्क राख्दै त्यसका लागि संघीय सरकारले जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब थोरै संक्रमित अट्ने होइन, हजार जना बस्न मिल्नेसम्मको आइसोलेसन निर्माण गर्न जरुरी छ, उक्त काम संघीय सरकारले मात्र सक्छ ।’
उहाँले अब बन्ने आइसोलेसनको व्यवस्था पनि स्थानीय तहले गर्ने बताउँदै यो आइसोलेसन सामान्य प्रकृतिको नहुने दाबी गर्नुभयो । ‘एक हजार अटाउने आइसोलेसनको सुरक्षा तीन तहको हुनेछ, त्यसको व्यवस्थापन उपत्यकाका नगरपालिकाले गर्नेछ’ –उहाँको भनाइ थियो ।

पछिल्लो समय आइसोलेसन तयार गर्न नसकेर आलोचना खेपिरहेको अवस्थामा मेयर फोरमको धारणा के छ भन्ने विषयमा उहाँको भनाइ थियो– ‘बाहिरबाट आउने सबैको रेखदेख स्थानीय तहको मात्र होइन, संघीय सरकारले व्यवस्था गर्नुपर्छ ।’ यो खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्