Logo

नेकपा विभाजन टार्न महाधिवेशन आयोजक कमिटी बनाउने देखि मन्त्रिमण्डल पुर्नगठनसम्मको सुत्र



काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन फेरि नयाँ प्रस्ताव तयार गरिएको छ । पार्टी विभाजनबाट रोक्न सक्रियहरुको पहलमा एकताको महाधिवेशन आयोजक कमिटी बनाएर जाने गरी सहमतिको सुत्र तयार गरिएको हो ।

विश्वस्त स्रोतका अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै रहने र महाधिवेशन आयोजक कमिटीको संयोजकमा झलनाथ खनाल या बामदेव गौतमलाई बनाएर जाने सुत्र तयार गरिएको हो । सकभर चैत्रभित्र महाधिवेशन गर्न आयोजक कमिटी सक्रिय हुने र केन्द्रीय कमिटी यथावत राख्ने प्रस्तावमा उल्लेख छ ।

मन्त्रिमण्डल पुर्नगठन गर्ने देखि मुख्यमन्त्रीहरु फेरबदलसम्मको विषय पनि सहमतिको सुत्रमा समावेश गरिएको छ । मन्त्रिमण्डल हेरफेर र मुख्यमन्त्रीहरु फेरबदल गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत तयार देखिएका छन् । तर, उनी सत्ता छाड्न तयार छैनन् । अध्यक्ष प्रचण्ड ओलीको राजीनामा माग्दै दबाब खडा गरिरहेका छन् । यसबाट पार्टी नै विभाजन हुने अवस्था बनेपछि मध्यमार्गीहरुको पहलमा सहमतिको सुत्र तयार गरिएको हो । यसका बारेमा नेकपाभित्र घनीभुत आन्तरिक छलफल बढेको छ ।

यसैगरी, हिजो नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच सहमतिको सुत्रबारे छलफल भएको छ । दुवै नेताले मिलेर जाने माहोल तयार गर्नेबारे छलफल गरेको बुझिएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि पार्टीको एकता भाँडिन नदिन सहमतिको सुत्र तयार गर्न सक्रिय रहँदै आएका छन् ।

नेकपाभित्र विभाजन टार्न विभिन्न कोणबाट प्रयास भइरहेपनि सहमति निकाल्न अझै हम्मे परिरहेको छ । ओलीको राजीनामा मागिरहेको पक्ष र ओली अझै आ आफ्नो अडानमा कायमै छ ।



प्रतिक्रिया दिनुहोस्