Logo

नेपाल बैंक लिमिटेडद्धारा कारोना कोषमा रु. ३ करोड ४६ लाख रकम जम्मा



काठमाडौं, २९ साउन । नेपाल बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको रु. ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गरेको छ । उक्त रकम अर्थमन्त्री डा.युवराज खतिवडालाई बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका हुन् ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु. ५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सहसचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीलगायतको उपस्थिति रहेको बैंकद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्