Logo

पार्टीभित्र अब विवाद छैन, पाँच/सात दिनभित्रै आयोगमा दर्ता गर्छौं : डा. लोहनी



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र अब विवाद नभएको स्पष्ट पारेका छन् । सबै कुरा मिलिनै सकेको उनको दाबी छ । आगामी पाँच सात दिनभित्र पार्टी निर्वाचन आयोगमा दर्ता हुने पनि उनले जानकारी गराएका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ अध्यक्ष डा. लोहनीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टी एकीकरण भएको धेरै दिन भयो तर तपाईहरु अझै पनि मिल्न सक्नुभएन ? विवाद कहाँ छ ?

विवाद छैन अब । हामीहरुको सबै कुराहरु मिलि नै सकेको छ । अब ५÷७ दिनभित्रमा हामी दर्ता पनि गर्न जान्छौँ । अहिले दर्ता नभएको एउटा कारण के थियो भने कोरोनाले गर्दाखेरि झन्डै ३ महिना अफिस पनि बन्द भएका थिए । अब खुलेको पनि छ । अब हाम्रो पार्टी एक हुने प्रक्रियामा छ ।

होइन अझै एक भएको छैन ? तपाईहरु के कारणले मिल्न सक्नुभएन ?

पार्टीको एकता गर्ने सम्झौता निर्वाचन आयोगमा दिई नै सकिएको छ । त्यसै अनुसारको विधानहरु पेश गर्ने भनेको छ । विधानहरु पेश गर्ने सबै प्रावधानहरु भईसकेका छन् ।

चुनाव चिह्नलाई लिएर कुरा मिलेन भनेर धेरैले भनेका छन् ? कमल थापाले गाई चुनाव चिह्न लिएर जानुपर्छ भनेर भन्नुभएको छ । तपाईहरुले हलो अनि कुरा कहाँ अड्कियो ? चुनाव चिह्न गाई कि हलो ?

चुनाव चिह्न हलो नै हुन्छ ।

कमल थापाले मान्नुभएको छैन । उहाँले अस्वीकार गरिरहनु भएको छ भन्ने कुरा आएको छ नि ?

हामी हलो नै भएर जान्छौँ । मूल कुरा के हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएर राष्ट्रमा शक्तिशाली दलको रूपमा अब आउन आवश्यक छ । यो राष्ट्रिय आवश्यकता हो । यसलाई यथार्थतामा परिणत गर्नको लागि हामीह्रु कटिबद्ध भएर लागेका छौँ । त्यसमा हाम्रो एक मन, दृष्टिकोण, भावना छ ।

नियुक्ति र नेतृत्वमा नै विवाद छ अरे, अनि वैचारिक रुपमा पनि विवाद कायमै छ अरे नि ?

हाम्रो ४ वटा एजेण्डा हो । एउटा नेपालको पहिचान, हिन्दू राष्ट्रको पहिचान, दोस्रो नेपालमा आलंकारीक रूपमा भए पनि एउटा निष्पक्ष संस्था नभई नहुने रहेछ । नेपालमा संविधानभित्रको संवैधानिक राजसंस्था हुनुपर्छ भन्ने कुरामा हाम्रो दृष्टिकोण एकदमै प्रस्ट छ । तेस्रो अहिले नेपाललाई भ्रष्ट्राचार विगत केही वर्षदेखि बढेर गएको छ, यसको विरुद्धमा संघर्ष गर्ने शक्तिको आवश्यकता छ र यसले नेपाली जनतालाई जुन शोषण गरिरहेको छ, त्यो समाप्त गर्नको लागि राजनीतिक शक्ति, संघर्षं गर्नुपर्छ भन्ने छ । चौथो कुरा, नेपालीहरुलाई विदेशमा गएर मरुभूमिमा रगत पसिना बगाएर काम गर्नुपर्ने स्थिति होइन, नेपालभित्रै रोजगारी दिलाउनुपर्छ । रोजगारी दिलाउन सकिन्छ भन्ने कुरामा हामी दृढ छौँ । यी चार ओटा एजेण्डाहरु लिएर हामी अगाडि बढेका छौँ ।

पशुपति शमशेर ज.ब.रा. ले भन्नुभएको छ, गणतन्त्र, संघीयताको विकल्प छैन । राजसंस्था पार्टीको एजेण्डा होइन भनेर । अनि कसरी कुरा मिल्छ त ?

उहाँको पनि त्यही प्रतिबद्धता हो । पार्टीहरुको बीचमा जुन किसिमको समझदारी छ, जसमा हामीले सही गरेका छौँ, त्यसमा राजासहितको प्रजातन्त्र भनेर स्पष्ट गरिएको छ ।

भ्रष्ट्राचार बढेको छ । अख्तियारले छानविन गरेको छ भनेर तपाईह्रु विश्वास गर्नुहुन्न ?

अख्तियारका मान्छेहरु असल नै हुनुहोला । तर अहिले अख्तियार त निरीह भएर बसेको छ । निरीक्षण गरिस् कि तलाई महाअभियोग लगाइदिन्छुृ भनेर एउटा अख्तियार लिएर बसेका मान्छेहरुले काम नै गर्न नसक्ने भए । जो बेइमानीह्रुलाई पक्रने भनेर बसेका हुन् नि, तिनीहरु नै आफै निस्क्रिय कि त बेइमान हुन थाले ।

हामी कहाँ चुक्यौँ, नेतृत्व कता चुक्यो ? अब देश कता जाला ?

भ्रष्ट्राचारमा नियन्त्रण नभएर यही तरिकाले जाने र यो जे गरिरहेका छौँ, यही ठिक छ, कोरोना पनि नियन्त्रण गरेका छौँ, सबै कुरा नियन्त्रण गरेका छौँ, आर्थिक विकास भएको छ भन्ने यो सपनामा बसेर जाने भनेदेखि भएका संस्थागत संरचनाले हाम्रा आवश्यकता, पीडा, दुःखलाई यिनीहरुले ध्यान दिएनन् । त्यसकारणले त्यसको विरुद्धमा सडकमा आउनुपर्छ भन्ने स्थितिमा आउँछ । कुन समयमा कसरी आउने हो, त्यो भन्न सकिँदैन तर आउन चाहि आउँछ । हुनुपर्ने के भन्दाखेरि जो प्रतिपक्षह्रु छन्, उनीहरुले पनि आवाज त उठाउनुपर्ने हो । हामीले उठाएका छौँ । हामी एक भएर आइसकेपछि हामी सडकमा आउँछौँ । हामी आवाज उठाउँछौँ । यो कुरालाई हाम छोड्नेवाला छैनौँ । तर प्रमुख प्रतिपक्ष जो हुनुभएको छ, उहाँह्रु पनि आफ्नै आन्तरिक कलहमा लाग्नुभएको छ । उहाँहरु पनि यति भद्रभलादमी हुनुहुन्छ कि उहाँहरु पनि यसमा चुप लागेर बस्नुभएको छ ।

त्यसोभए तपाईहरु सडकमा आउनुहुन्छ अब ?

सडकमा आउँछौँ हामी तर अहिले कोरोनाको स्थिति छ । समय अनुकुल भएर पार्टी दर्ता हुने बित्तिकै यो प्रक्रियामा हामी चुप लागेर बस्दैनौँ । यो देशको लुट राणाशासनलाई पनि बिर्साउने खालको, अहिले त विकास गर्छु भन्ने देशलाई माथि लैजान्छु भन्ने तर काम गर्दा भ्रष्टहरुलाई मात्र प्रोत्साहन गर्ने, भ्रष्टचारी प्रक्रियालाई प्रोत्साहन गर्ने र भ्रष्टचार नियन्त्रण गर्न सक्ने संस्थालाई निरीह गराएर राख्ने जुन संस्कार चलेको छ, यो पाखण्डीपन, नमसामन्तवाद हो । यसको विरुद्धमा जनता उठ्छन् ।

नेपाल–भारत सम्बन्ध प्रगाढ हुन सकेन । वर्तमान सरकारले नेपाल–भारत सम्बन्धमा आइसब्रेक गर्न सक्छ ?

मैले त देखिरहेको छैन । भारतको पनि नेपालप्रति पहिला जुन किसिमको व्यवहार भयो । नेपाललाई अघोषित नाकाबन्दीका कदमहरु भए । नेपाल सरकारले पनि आफ्नो बोलीवचनमा जुन किसिमको मित्रराष्ट्रहरुप्रति व्यवहारहरु गरेको छ, त्यसले गर्दा पनि वातावरण बिग्रेको छ । अयोध्यापुरीमा राम जन्मेको भनेर प्रधानमन्त्रीले भन्ने कुरा होइन नि । यदि त्यस्ता कुनै प्रमाण छन् भनेदेखि यहाँका विद्वानहरु, भारतका विद्वान्हरु छन्, पुरातात्विक प्रमाणहरु जुटाएर इतिहास खोजेर त्यसको बारेमा छलफल गर्नु, त्यो आफ्नो ठाउँमा छ होला । तर एउटा देशको प्रधानमन्त्रीले यो फलानो मेरो भनेर जुन किसिमले भन्न खोजिएको छ, यसले दुई देशबीचको सम्बन्धलाई राम्रो गर्छ भन्ने दृष्टिकोण देखिँदै देखिँदैन । यसो गरेदेखि नेपालभित्र मेरो इज्जत बढ्छ कि भन्ने भावना लिएर आफ्नो असफलतालाई लुकाउनको लागि जनताको ध्यान अरूतिर मोड्ने जुन प्रयास अहिलेको सरकारबाट भएको छ, त्यो दुभाग्र्यपूर्ण हो । नेपालको परिवेशमा अब परराष्ट्रमन्त्रालय र परराष्ट्रमन्त्रीको काम पनि छैन । प्रधानमन्त्री के के बोल्नुहुन्छ, त्यही नै हो, परराष्ट्र नीति ।



प्रतिक्रिया दिनुहोस्

Screenshot