Logo

बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरु असफल



२९ साउन : अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन् ।विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।

बुधवार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।

उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गरेका थिए ।

ह्यारिसले भनिन्, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”

उनले भनिन् , “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।” अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उनी पहिलो अश्वेत महिला छिन् । ह्यारिस र बाइडेन दुबैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गरेका छन् । उनले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाए ।
उनले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गरेका छन् ।

“ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गरेको थियो ,” ट्रम्पले बुधबार भने ।तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाएका छन् । दुबैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाएका थिए ।ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गरेका छन् ।

बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुबै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ । बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताउनु भएको छ । २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो ।-एपी/Photo Source : The Quint



प्रतिक्रिया दिनुहोस्