Logo

यि हुन कोरोना संक्रमण भएका भिआइपीहरु, के गर्दैछन् ?



साउन २९, काठमाण्डौ । अन्य देशहरुमा जस्तै नेपालमा कोरोना संक्रमणका कारण आम नागरिक देखि विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि कोही सेल्फ क्वारेन्टिनमा त कोही सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

अहिलेसम्म एक मन्त्री, ५ जना सांसद, एक संवैधानिक आयोगका प्रमुख, प्रदेशका मुख्य न्यायाधिवक्ता र संघीय संसद सचिवालयका सहसचिवलाई समेत संक्रमण पुष्टि भइसेकेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र प्रदेश २ मा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव र प्रदेशसभामा महोत्तरीबाट सांसद बनेकी डा. रीना कुमारी यादवलाई ११ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री यादव यतिबेला होम आइसोलेसनमै छिन् । यादवले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आत्मबल बढाए आफुहरुले कोरोनालाई सजिलै जित्न सकिने मन्त्री यादवको भनाई छ ।

त्यस्तै प्रदेश १ मा सांसद कुसुम श्रेष्ठलाई बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश ५ की सांसद कृष्णा केसी (नमुना) लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद केसीले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएकी थिइन् । गत मंगलबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डेलाई पनि एक हप्ताअघि संक्रमण देखिएको थियो । सहसचिव पाण्डेले पनि कोरोनाा जितिसकेका छन् । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई १० दिनअघि संक्रमण पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन् । वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी पनि कोरोना संक्रमण भएर काठमाडौंकै एक अस्पतालमा छन् ।

३० असारमा कोरोना पोजिटिभ देखिएका कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही र १६ साउनमा संक्रमण देखिएका प्रतिनिधिसभाका सांसद प्रदिप यादव संक्रमणमुक्त भइसकेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल कोरोना संक्रमणको जोखिमका कारण घरमै क्वारेन्टिनमा बसेको उनको सचिवालयले जनाएको छ । सचिवालयका सदस्यहरूको गाडी चलाउने चालकमा संक्रमण पुष्टि भएपछि उनी, उनका परिवार र सचिवालयका सदस्यहरू घरमै क्वारेन्टिनमा बसेका छन् ।

यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेतका बुबाको निधनपछि परिवारलाई भेट्न सिन्धुपाल्चोकको बाह्रबीसे पुगेर फर्किएपछि नेकपाका नेताहरू अमृत कुमार बोहोरा र शेरबहादुर तामाङ पनि घरमै क्वारेन्टिनमा बसिरहेका छन् । संक्रमणको आशंकामा सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल सेल्फ आइसोलेसनमा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्