Logo

ओलीले सबैलाई मान्य हुने सहमतिको प्रस्ताव ल्याउने, प्रचण्ड पर्ख र हेरको अवस्थामा



काठमाडौं, २९ साउन । चार घन्टा लन्चसहितको बैठक बस्दा पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्न सकेन । कहिले ओलीले त कहिले प्रचण्डले आफ्नो बटमलाइन राखिरहे । प्रचण्डको कुरो बुझेपछि ओलीले अन्तमा सबैलाई मान्य हुने एउटा प्रस्ताव बनाउने बताए । त्यो प्रस्ताव तयार गरी आगामी छलफलमा प्रस्तुत गर्ने समेत बताएका थिए ।

विश्वस्त स्रोतका अनुसार बामदेव गौतमद्धारा प्रस्तावित बुँदामा केही परिमार्जन गरी सहमति खोज्ने प्रयास भएको थियो । उक्त बुँदामा ओली र प्रचण्ड दुवैजना अध्यक्ष रहेन, प्रचण्ड कार्यकारीसहित सम्पूर्ण अधिकारको अध्यक्ष बन्ने र अर्ली महाधिवेशनमा जाने विषय उल्लेख छ । अर्ली महाधिवेशनका लागि आयोजक कमिटी नै बनाउने सम्मको विषयमा छलफल भएको थियो ।

ओली र प्रचण्डले मन माँझेर गम्भीरतापूर्वक कुरा गरेपछि सहमति तयार गर्न सबैलाई समेटेर जानुपर्ने विषय पनि उठ्यो । त्यसपछि ओलीले सबैलाई मान्य हुने प्रस्ताव ल्याउने भनेका थिए । उनले चाँडै नै ड्राफ्ट तयार गरी दुई अध्यक्षबीच छलफल गर्नेबारे समेत स्पष्ट पारेको बुझिएको छ ।

सहमतिको सुत्र तयार गर्न ओलीले शुक्रबार पनि प्रचण्डलाई बालुवाटार निम्तो गरेका छन् । दुई नेताबीच सहमतिको खाका तयार गर्नेबारे अबको बैठक केन्द्रित हुने बुझिएको छ ।

सहमतिको खाकामा अर्ली महाधिवेशनको विषयमा बढी जोड दिनेगरी लगभग सहमति बनेको विश्वस्त स्रोतले बताएको छ । महाधिवेशन आयोजक कमिटी बनाउनेबारे पनि छलफल भएको छ । कमिटी सम्भवत वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा बनाउने गरी छलफल बढाइएको छ ।

यसैगरी, मन्त्रिमण्डल पुर्नगठन गर्ने देखि मुख्यमन्त्रीहरु फेरबदलसम्मको विषय पनि सहमतिको सुत्रमा समावेश गर्ने गरी छलफल भएको छ । मन्त्रिमण्डल हेरफेर र मुख्यमन्त्रीहरु फेरबदल गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत लचिलो देखिएका छन् । तर, उनी सत्ता छाड्न तयार छैनन् । अध्यक्ष प्रचण्ड ओलीको राजीनामा माग्दै दबाब खडा गरिरहेका छन् । यसबाट पार्टी नै विभाजन हुने अवस्था बनेपछि मध्यमार्गीहरुको पहलमा सहमतिको सुत्र बनाउनेतर्फ अग्रसरता बढेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्