Logo

तीन दिनमा उपत्यकामा कुल सङ्क्रमितको २५ प्रतिशत थपिए



काठमाडौँ, ३० साउन। काठमाडौँ उपत्यकामा बिहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो तीन दिनयता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा १२७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । बिहीबार देशैभरि ५२५ जना नयाँ सङ्क्रमितको पुष्टि भएका थिए ।

पछिल्लो तीन दिनमा मात्रै काठमाडौँ उपत्यकामा ३९९ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा बुधबार १३८ र मङ्गलबार १३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । बुधबार देशैभरि ४८४ र मङ्गलबार ६३८ जना सङ्क्रमित फेला परेको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन दिनमा काठमाडौँ उपत्यकासहित देशैभरि एक हजार ६४७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये तीन सय ९९ जना काठमाडौँ उपत्यकाका छन् । काठमाडौँ उपत्यकामा तीन दिनमा पुष्टि भएका सङ्क्रमित देशैभरिमा सङ्क्रमण पुष्टि भएकाहरूको २४।२२ प्रतिशत हो ।

गृह मन्त्रालयले काठमाडौँसहित देशैभरि बढ्दो सङ्क्रमणलाई लिएर आवागमन बन्द गर्ने निर्णय गरिसकेको छ । परिणामस्वरुप सार्वजनिक यातायात बन्द गरिएको छ । ७७ वटै जिल्लालाई सबारी पास जारी नगर्न निर्देशन दिइएको छ ।

सरकारी कार्यालयहरूमा ‘वर्क फ्रम होम’को अवधारणा ल्याइएको छ । अधिकांश सरकारी कार्यालयहरूले कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने कर्मचारीको सङ्ख्यामा कटौती गरेको छ । जसले गर्दा काठमाडौँ शहरको मुख्य बजार स्थलमा चहलपहल कम देखिएको छ । काठमाडौँ उपत्यकामा बढ्दो सङ्क्रमणका बीच मुख्य बजार क्षेत्रका पसलहरू समेत स्वतः स्फूर्त बन्द गरिएका छन् ।

काठमाडौँमा पछिल्लो तीन दिनमा पुष्टि भएको सङ्क्रमित देशैभरि पुष्टि भएको तीन दिनको सङ्क्रमितको करिब २५ प्रतिशत हो यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्