Logo

सामाजिक सञ्‍जालले लेला ज्यान



काठमाडौं, ३० साउन । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन्। फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर।

घटनाः २

२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो। उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्। नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटकपटक सम्झाएकी पनि थिइन्। तर, छोरी नै आमाका काल बनिन्। भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन्।

घटनाः ३

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो। प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो। परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो। साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटकपटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए। विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए। दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए। सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो।

०००

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। मन मिलुन्जेल अवैध सम्बन्ध ठीक। तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ।

गोंगबुको घटना पनि यसैको एउटा उपज हो। कृष्णबहादुर र कल्पनाबीचको सम्बन्ध राम्रो हुँदाहुँदै पनि त्रासदीपूर्ण घटनामा आएर टुंगिन पुग्यो। कारण थियो, कृष्णबहादुरले कल्पनाको भावभंगीको फाइदा उठाएर नक्कली फेसबुक आईडी बनाई नग्न र अश्लील फोटो अरुलाई पठाइदिए। कल्पनाले कृष्णबहादुरबाट त्यसखालको व्यवहार चाहेकी थिइनन्। तर, कृष्णबहादुर त्यसैलाई हतियार बनाएर कल्पनाको छोरीसम्मलाई गलत नजरले हेर्न थालिसकेका थिए।

यौनमा रमाउन थालेका कृष्णबहादुरबाट आफ्नी छोरीसमेत असुरक्षित बनेको देखेपछि आफूले योजनाअनुसार नै हत्या गरेको कल्पनाको बयान प्रहरीसँग छ। ‘योजनाअनुसार नै कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाएर मदिरा र निद्रा लाग्ने औषधि खुवाई हत्या गरेर टाउको काटी शव फालेकी थिइन्,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यस खालको अपराध कल्पनाले सहने शक्तिको सीमा नाघेपछि मात्रै रोजेको देखिन्छ।’ यो घटनामा कल्पना दोषी छिन्। कानुनी उपचार खोज्ने बाटो रहँदा पनि कृष्णबहादुरको हत्या गर्नु भनेको कल्पनाले कानुन हातमा लिएको बुझाई अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको छ।

माथि उल्लेखित घटना २ र ३ मा पनि सामाजिक सञ्जाल दुरुपयोग एउटा प्रमुख कारक हो। ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफको चिनजान फेसबुकले नै जुराइदिएको थियो। ईश्वरीसँगको अवैध सम्बन्धको प्रमाण नैसाफसँंग सुरक्षित थियो। त्यही भएरै ईश्वरी नैसाफसँंग अलग हुन सक्ने अवस्थामा थिइनन्। अझ ईश्वरीकी आमा सावित्री उक्त सम्बन्धको एउटा ठूलो प्रमाण थिइन्। उक्त प्रमाण मेटाउन आमाको हत्या योजनामा ईश्वरी नै मुख्य योजनाकार बन्न पुगको प्रहरी अनुसन्धानले देखाउँछ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘सामाजिक सञ्जालबाट जोडिएको सम्बन्ध निरन्तर कायम राख्न ईश्वरी र नैसाफ सावित्रीको हत्या गर्ने योजनालाई पूर्णता दिन्छन्। जुन दृश्य एउटा फिल्मी कहानीभन्दा कम छैन।’

२०७६ माघ २४ मा मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालिएकी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या पछाडिको रहस्य पनि सामाजिक सञ्जालसँंगै जोडिन्छ। सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने सुरेन्द्रप्रसाद साहले आफू र खत्रीबीचको अवैध सम्बन्ध बाहिर आउने देखेपछि खत्रीको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए। खत्रीले विवाह गर्न साहलाई दबाब दिँदै आएकी थिइन्। तर, साह अवैध सम्बन्धलाई नै निरन्तरता दिन खोज्छन्। खत्रीले आफूलाई विवाह नगरे अवैध सम्बन्धको फोटो सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने धम्की दिएपछि साहले हत्या गरेको प्रहरी बयानमा खुलाएका थिए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुबेर कडायतले साइबर अपराधका उजुरी कम देखिए पनि दुरुपयोग भने बढेको बताए। उनका अनुसार पुरुष र महिलासँँग सम्बन्धित अधिकांश अपराधको अनुसन्धान गर्दा कुनै न कुनै बिन्दुमा सामाजिक सञ्जाल जोडिएकै देखिन्छ। साइबर अपराध अहिले ठूलो चुनौतीको रूपमा देखा परेको बुझाइ प्रहरी मुख्यालयको छ। ‘इन्टरनेटको पहुँचले पनि फेकबुक एकाउन्ट नहुने कमै छन्। फेसबुककै माध्यमबाट साथी बन्ने, भेट्ने र अवैध सम्बन्ध कायम गर्ने प्रवृत्ति पनि बढेको विभिन्न अनुसन्धानले देखाएको छ,’ कडायतले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव छैन। प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी रहेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्