Logo

पर्सामा ११ सय ११ कोरोना संक्रमित, मृतकको संख्या देशभरीमै उच्च



पर्सा, साउन ३० । जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १५ जना भारतीय नागरिक रहेका छन् ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन् । अहिलेसम्म कोभिड–१९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय, १ जना बेवारिसे, बाराका २, रौतहटका १ जना रहेका छन् ।

बारा र रौतहटका समेत गरी पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृतकहरू अधिकांश दीर्घ रोगी एवं अन्य कुनै स्वास्थ्य समस्या भएका जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कतिपयमा मृत्यु भइसकेपछि कोरोना पुष्टि भएका छन् भने कतिपय अन्य उपचारका लागि अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएका छन् । पर्सामा हालसम्म १४ हजार ८ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

संक्रमितमध्ये वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ । त्यसतै गण्डक कोभिड अस्पतालमा १० महिलासहित ६५ जना रहेका छन् ।

रानीखोरी सामुदायिक आइसोलेसन सेन्टरमा ३४, राणी सति धर्मशालामा ४१, वीरगन्ज सिद्धार्थ स्कुलमा ३२, वीरगन्ज कारागारमा ३८, अन्य आइसोलेसनमा ९४ र होम आइसोलेसनमा ३ सय २५ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

कोरोना संक्रमित ३ सय २५ जना होम आइसोलेसनका नाममा आइसोलेसन भन्दा बाहिर रहनु नै पर्साका लागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ । होम आइसोलेसनको मापदण्ड पालना भए÷नभएका बारेमा अनुगमन हुन सकेको छैन ।

संक्रमितले पसल सञ्चालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । यस्तो अवस्थामा थप आइसोलेसन वार्डको निर्माण आवश्यक देखिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्