Logo

महाधिवेशन आयोजक कमिटि बनाउने प्रस्ताव गलतः नेता ज्ञवाली



काठमाडौं, साउन ३० । नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटि बनाउने प्रस्ताव गलत भएको बताएका छन्।

पार्टीको विधानमा अहिलेको केन्द्रीय कमिटिलाई नै महाधिवेशन गर्ने जिम्मेबारी तोकिएकाले अर्को महाधिवेशन आयोजक कमिटि आवश्यक नरहेको उनको भनाई छ ।

‘विधान विपरित महाधिवेशन आयोजक कमिटि बनाउनु भनेको प्रकारान्तरले पार्टीलाई विघटन तर्फ लैजानु हो’ पत्रकार ऋषि धमलासंगको अन्र्तवार्तामा उनले बताएका छन ।
पार्टीका जुनसुकै विषयलाई पनि दुई चार जना नेताले प्रस्ताव गर्ने र निर्णय गर्ने गरेर नहुने दावी गर्दै सवै प्रस्ताव पार्टी कमिटिमा राख्नु पर्ने उनको भनाई छ।

नेता ज्ञवालीले अहिले स्थायी कमिटिको बैठक अनिश्चितकालका लागि स्थगित भएकाले सवैभन्दा पहिले बैठकको मिति तय गर्नु पर्ने र सवै विषयलाई त्यही राख्नु पर्नेमा जोड दिए

अध्यक्ष केपी शर्मा ओलीसहितको सचिवालय बैठकले स्थायी कमिटिको एजेण्डा तय गरेको र त्यस एजेण्डाका आधारमा बैठकलाई अगाडी बढाउनु पर्ने उनको भनाई छ ।

पार्टीको आधिकारीक, अधिकारसम्पन्न र औपचारिक संरचनालाई वेवास्ता गर्न र अबमुल्यान गर्नु आपत्तिजनक भएको ज्ञवालीले दाबीसमेत गरे

पार्टी विधान नमान्नेहरुले मुलुकको संविधान पनि उलंघन गर्ने भएकाले लोकतान्त्रीक अभ्यास र आचरण पार्टी भित्रैबाट कायम हुनुपर्ने उनको तर्क छ ।

उनले भने ‘संविधान नमानेकाले राजा हटाएको हो, फेरी नयाँ राजा बन्ने प्रयास नहोस्, लोकतन्त्रमा सुहाउने कुरा हैन ।’

देशको संविधान र पार्टीको विधान पालना गर्ने सवैभन्दा पहिलो जिम्मेबारी पार्टीका शिर्ष नेताहरुकै भएको बताउदै उनले शिर्ष नेताले नै उलंघन गरेमा तल्लो तहबाट पनि उलंघन हुने र देश अराजकता तर्फ धकेलिने नेकपा नेता ज्ञवालीले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्