Logo

केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव सोझै रिजेक्ट हुन्छ : ज्ञवाली



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको भेटवार्तामा कुनैपनि सहमति नभएको दाबी गरे । हिजोको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीका कुराहरु एकोहोरो सुन्ने काममात्रै गरेको पनि उनले सुनाए । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टीका अध्यक्षद्धय ओली र दाहालबीच सहमति हुने कत्तिको सम्भावना छ ? हिजो भेटवार्ता भयो के के कुरा भयो ?

हिजो पुरै सहमति भएको छैन दुई अध्यक्षको बीचमा ।

हिजो के के भयो, ठ्याक्कै भनिदिनुस् । विवादका समाधानका मोडलहरू त तयार भए होलान् नि ?

एकोहोरो सुन्ने कुरामात्र भयो, प्रचण्डजीले । विभिन्न खालका कुराहरू उताबाट प्रधानमन्त्रीबाट आएका छन् । तर कुनैपनि त्यसबारे प्रतिक्रिया उहाँले दिनुभएन । अब स्थायी कमिटिको जुन बैठक चालू छ, यो अन्त्य भएको छैन । त्यो बैठकलाई चालू राख्नुपर्छ । त्यो बैठकमा सबै कुरा राख्नुपर्छ, निर्णय निकाल्नुपर्छ भन्ने कुरा उहाँले बताउनुभयो । बैठक नै बस्न पर्दैन त भन्ने भएन तर कहिले बैठक बस्ने भन्ने कुरा टुंगो लागेको छैन । हाम्रो अघिल्लो स्थायी कमिटिको बैठकले अर्को बैठक बस्ने मिति एउटा अध्यक्षले सल्लाह गरेर मिति तय गर्ने जिम्मा कमरेड प्रचण्डलाई दिइएको हो । अहिले स्थायी कमिटिको बैठक कहिले बस्ने भन्ने बारेमा सबैभन्दा पहिले टुंगो लगाउनुपर्ने आवश्यकता छ । स्थायी कमिटिको बैठकले विभिन्न एजेण्डाहरू तय गरेको छ । त्यसमा महत्वपूर्ण एजेण्डा कोरोनाको समस्याको सही समाधान ठीक समयमा कसरी गर्ने भन्ने बारेमा छलफल, समीक्षा गर्नुपर्ने छ ।

स्थायी समितिको बैठक बोलाउनको लागि प्रधानमन्त्री तयार हुनुहुन्न अरे ?

स्थायी कमिटिको बैठक त बस्ने निश्चित नै छ । त्यो बैठक जारी छ । सचिवालयको बैठक त उहाँहरू सल्लाह गरेर बस्ने हो । स्थायी कमिटिको बैठकबाट सबै निर्णय गर्नुपर्छ । स्थायी कमिटिको बैठकले एजेण्डा तय गरेको छ । कमरेड के.पी. ओलीसहित उपस्थित् भएको बैठकले एजेण्डा तय गरेको हो । त्यसमा सरकार, पार्टीको काम, कोरोनाको समीक्षा छ । नक्साको बारेमा बैठकले सरकारलाई धन्यवाद दियो । कालापानीबाट सेना फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्नुपर्छ ।

चैतमा पनि महाधिवेशन हुन नसक्ने अनि अर्को मंसिरमा महाधिवेशन गराएर जाने अहिले केन्द्रिय समितिलाई महाधिवेशन आयोजक समिति बनाउने, र प्रचण्डलाई संयोजकको जिम्मेवारी दिने भन्ने सहमति बालुवाटारमा भयो अरे नि ?

सहमति भएको छैन, पहिलो कुरा । त्यो सहमति हुँदैन । शतप्रतिशत हुँदैन । कुनै पनि हालतमा लागू हुँदैन त्यस्ता कुरा । कस–कसले ल्याउनुहुन्छ, त्यो कुरा, स्थायी कमिटि, केन्द्रिय कमिटिमा ल्याउनुस् त, आँट गर्न सक्नुहुन्छ ? सोझै रिजेक्ट हुन्छ, सोझै । कसले समर्थन गर्दैछ, त्यो पनि हेरौँ न हामीले । आयोजक कमिटि बनाउने भनेको यो केन्द्रिय कमिटि भंग गर्ने हो । केन्द्रिय कमिटि भंग गर्ने हिम्मत कसको छ ? केन्द्रिय कमिटि भंग नै गर्ने हो भने केन्द्रिय कमिटिको बैठक बस्नुपर्छ फेरि । केन्द्रिय कमिटिको बैठक नबसिकन केन्द्रिय कमिटि भंग हुन्छ ? केन्द्रिय कमिटि भंग गर्नुको अर्थ हो पार्टी विघटन गर्ने । केन्द्रिय कमिटि भंग हुँदैन । आयोजक कमिटि बन्दैन । केन्द्रिय कमिटि आयोजक कमिटि हो, विधानमा लेखेको छ । के गर्न खोज्नुभएको छ, उहाँले ? कसले भनेको हो, भन्ने नाम पनि आउनुप¥यो ?

प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रस्ताव हो त्यो । तपाईहरु मान्नुहुन्न ? 

बैठक, कमिटिमा आउनुप¥यो । त्यहाँ तर्क राख्नुप¥यो । यो आयोजक कमिटि सम्भव नै छैन । यो केन्द्रिय कमिटि विघटन हुँदैन । यो केन्द्रिय कमिटि सर्वोच्च निकाय हो । केन्द्रिय कमिटि नबसेको अवस्थामा स्थायी कमिटि जारी छ । अहिले कोरोनाको समस्या छ, हामीलाई थाहा छ, यो कुरा । २ महिना हामी घरमा ढोका बन्द गरेर बसेको होइन, हामी सम्पूर्ण नेपाली जनता ? जु्नबेला कोरोनाको समस्या खास थिएन, देशभरि बन्द गरियो, सारा लकडाउन भयो देश । अहिले कोरोना नै कोरोना छ, सयौँ मानिसको संक्रमण बढिरहेको छ, जुनबेला खतरा बढिरहेको छ, हामी खुला गर्छौँ, जुनबेला भर्खर सुरु भएको थियो, पूरा देश बन्द गर्छौँ । हामी जान कसरी खोजिरहेका छौँ ? त्यसको समीक्षा गर्नुपर्दैन ? अहिले कोरोनाको महामारी फैलिरहेको छ, भेन्टिलेटर, औषधी पाएको छैन, यस्तो भयावह स्थिति आएको छ । ठोस योजना बनाउनु छैन । अरबौँ अरब खर्च भईसक्यो, भेन्टिलेटर छैन । यस्ता तमाम विषयहरू छन्, जो समीक्षा गर्नुपर्नेछ बैठकमा । तर बैठकमा नबस्ने, गर्न खोजेको के ? महाधिवेशन गर्न नखोजेको हो यो ।

बैठकको आवश्यकता आजको समस्याको समाधान हो भन्ने तपाईको भनाई हो ? बैठकको विकल्प छैन ?

स्थायी कमिटिको बैठक नै समस्याको समाधानको उपाय हो । त्यहाँ एजेण्डाहरू रहेका छन् । त्यही एजेण्डामाथि छलफल हुनुपर्छ । त्यसपछि के गर्ने, के नगर्ने भन्ने कुरा बैठकले टुंगो लगाउँछ । त्यहाँ हामीले आफ्नो कुरा राख्छौँ । बैठकले जे निर्णय गर्छ, त्यसलाई सर्वोपरि ठानेर सबै नेताहरूले त्यो निर्णयलाई शिरोधार्य गरेर अगाडि बढ्नुपर्छ । पक्कै पनि स्थायी कमिटिले विवेक, ध्यान पु¥याएर निर्णय गर्नेछ । आवेग र उत्तेजनामा निर्णय गर्दैन, स्थायी कमिटिले, यो कुरा बुझ्नुपर्छ । सबै स्थायी कमिटिका सदस्यहरू मुलुक र जनताप्रति जिम्मेवार, उत्तरदायी, लडेर खुनपसिना बगाएर आएका मान्छेहरू छन् । अहिले पार्टी र मुलुकप्रति सबैभन्दा ठुलो चिन्ता छ । नेताहरूले त्यो कुरालाई ध्यानमा राखेर विधि, विधान अनुसार चल्नुप¥यो । साँच्चै अर्थमा यदि हामी लोकतन्त्रवादी हाँै भने विधिमा सबै नेताहरूले चल्ने परिपाटीलाई माथिबाट सबैभन्दा पहिले स्थापित गर्नुप¥यो ।



प्रतिक्रिया दिनुहोस्