Logo

समुदायमा बढ्दै कोरोना सङ्क्रमण



रुपन्देही, ३० साउन: प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमित ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको सामान्यावस्था छ ।

आलोपालो प्रशासनिक सेवा

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । यही साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेल जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिए ।

प्रजिअ पन्थका अनुसार आइतबार सिद्धार्थ नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइनेछ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी साँस्कृतिक नगरपालिकावासीलाई सेवा दिइनेछ । मङ्गलबार देवदह नगरपालिका तथा ओमसतिया र कोटहीमाई गाउँपालिका एवं बुधबार बुटवल उपमहानगरपालिका तथा सियारी र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइनेछ ।

बिहीबार सैनामैना नगरपालिका तथा गैडहवा र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइनेछ । शुक्रबार मायादेवी र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ ।

यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने तथा शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्