Logo

कोरोना संक्रमणले समुदायमा आतंक, कतै निषेधाज्ञा, कतै सेवा ठप्प



साउन ३०, काठमाण्डौ । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणले भयावह स्थिती सृजना गरेको छ । समुदाय स्तरमा संक्रमण फैलिएपछि नियन्त्रण तथा रोकथाममा निकै कठिनाई भइरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र सेवा बन्द गर्न थालिएको छ । आज मात्रै पनि दर्जनौँ ठाउँमा विभिन्न सेवा बन्द तथा निषेधाज्ञादेखि लकडाउनसम्मको निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु शुक्रबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

तनहुँको भानु नगरपालिकाको १ नम्बर वडाका २० जनामा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ । भानु नगरपालिकासँग सिमाना जोडिएका अन्य ठाउँमा समेत आवतजावतमा रोक लागाइएको छ । भानुसँगै जोडएको बन्दिपुर गाउँपालिकाको वडा नम्बर१, ४ र ५ मा आजदेखि लागु हुनेगरी भदौ ५ गतेसम्मका लागि सिल गरिएको छ ।

संक्रमण बढेसँगै कर्णाली प्रदेशले नाकामा कडाई गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ । प्रदेशमा प्रवेशका लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको हो ।

चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । एक ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले एकसाताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको छ ।

काठमाण्डौको तारकेश्वर नगरपालिका क्षेत्रमा अत्याआवश्यक बाहेकका पसल खोल्न नपाईने भएको छ । कोरोना संक्रमणको जोखिम बढदै गएकोले उक्त निर्णय भएको हो । नगरपालिकाले खाद्यन्न सामाग्री, तरकारी ग्यास, दुधजन्य पसलहरु, पोलिक्लिनीक तथा औषधी पसल बाहेक अन्य पसलहरु खोल्न नपाईने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाले एक साताका लागि लकडाउन थप गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले यसबाट हुन सक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप गरिएको हो । महानगरमा हालसम्ममा कोरोना संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ । महानगरमा संक्रमितको संख्या ४ सय १४ पुगेको छ । जसमा ६९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ । उक्त स्थानका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँ महानगरपालिका–१४ ले कुलेश्वर, कालीमाटी र बल्खु क्षेत्रका पसल तथा केही क्षेत्र सिल गरेको हो । बन्दाबन्दी हटेसँगै फलफूल तथा तरकारी बजारमा भारत र तराईबाट धेरै जना फर्किएका कारण कोरोना सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि १५ दिनका लागि डिपो सिल गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो ।

साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि बन्दी प्रत्यक्षीकरण रिटसहित केही संवेदनशील मुद्धामात्र सुनुवाई गर्ने गरी सेवा प्रवाह संकुचित बनाएको छ ।

कोरोना महामारीको जोखिम न्युनीकरणका लागि अदालतमा भिडभाड हुन नदिन बन्दी प्रत्यक्षीकरणको रिट, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाई गर्नुपर्ने प्रकृतिको रिटको दर्ता र सुनुवाई मुद्धा फिर्ता र मिलापत्रसम्बन्धी काम कारबाही मात्र गर्ने सर्वोच्च अदालतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्