Logo

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने



काठमाडौं, साउन ३१ । बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क, व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा गर्भनर महाप्रसाद अधिकारीबाट स्वीकृत भएको ‘कोभिड–१९ सङ्क्रमण जोखिमको व्यवस्थापन र बैङ्कको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ लाई परिमार्जन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण संस्थाकै खर्चमा गर्न सर्कुलरमार्फत निर्देशन दिएको छ ।

बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बैङ्किङ सेवा प्रदान गर्न निर्देशन दिँदै राष्ट्र बैङ्कले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेसनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्ट्याक टे«सिङ’ गर्न पनि निर्देशन दिएको छ ।

दुई सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यका भित्रका बैङ्क तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत केन्द्रीय बैङ्कको निर्देशन छ ।

अरू कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने तथा बैङ्कले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्