Logo

हामी सबै विषयमा छलफल गर्छौँ, अहिले त कार्यदलको बैठक पनि बसेको छैन : भुषाल



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य पम्फा भुषालले पार्टीभित्र अहिले देखिएको सबै विवाद समाधान हुने विश्वास लिएकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीमा सहमति हुने कुरामा आफू ढुक्क रहेको पनि स्पष्ट पारिन् । प्रस्तुत छ नेतृ भुषालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब तपाईहरुको पार्टी एक भएर अगाडि बढ्ने भयो ? तपाई यसमा ढुक्क हुनुहुन्छ ?

पार्टीमा सहमति हुन्छ ।

कसरी हुन्छ, त्यसको मोडालिटि बताउनुस् त ? सहमतिका सूत्रहरू ?

हाम्रा आफ्ना अन्तर्विरोधहरू छन् पार्टीभित्र विविध विषयमा । हामी त्यसलाई छलफल गर्छौँ कार्यदलमा । एउटा सहमतिको प्रस्ताव तयार गर्छौँ । पार्टी एकतालाई सुदृढ गरेर अगाडि बढ्छौँ । पार्टी एकता गरेको भर्खरै २ वर्ष भएको छ । यो एउटा ऐतिहासिक काम थियो । त्यसले परिणाम पनि दियो । तर त्यसलाई संस्थागत, व्यवस्थित ढंगले अघि लैजाने काममा हामीकहाँ समस्याहरू रहे । स्थायी समिति बस्दाबस्दै स्थगित भएको छ । अर्को कुरा कोभिड १९ को कहरमा पनि हामी गुज्रिरहेका छौँ । संस्थागत ढंगबाट नेतृत्वको निर्णय गरेर अगाडि बढ्ने हो ।

नेताहरूको मन मिल्न सकिरहेको छैन । तपाईहरू फेरि ब्याक हुनुभयो होईन ?

ती त हाम्रो पार्टीका आन्तरिक जीवनका विषयहरू हुन् । उठेका सबै विषयहरूलाई सकारात्मक ढंगले समाधान गर्ने र अगाडि बढ्ने, केही राजनीतिक होलान्, केही रणनीतिक होलान्, तरिका अलग होला, त्यो गरेर अगाडि जाने गरी पार्टीलाई एकताबद्ध गर्ने हो ।

प्रधानमन्त्रीले दुबै पद नछोड्दा पनि सहमति हुन्छ ?

हामी सबै विषयमा छलफल गर्छौँ । अहिले त हामीले औपचारिक हिसाबले बैठक पनि बसेका छैनौँ । हामी पनि छलफल, अन्तक्र्रिया, के समाधान हुन्छ भनेर हामी विमर्श गर्छौँ । अहिले तत्कालमा गर्ने समाधान र कतिपय दीर्घकालमा गर्ने समाधान गरेर पार्टीका समस्या हल हुनुपर्छ भन्ने हिसाबले हामी जान्छौँ ।

नेताहरुले महाधिवेशनसम्म जानुपर्छ भन्नुभएको छ, अहिलेको विवाद सबै महाधिवेशनले नै छिनोफानो गर्छ ?

महाधिवेशन त हुन्छ तर महाधिवेशनभन्दा पहिले पनि हामीले सक्नुपर्ने कामहरू छन् । केन्द्रिय समितिले तिथिमिति तय गरेको थियो । एकदुई महिना पार्टी गतिशिल हुन सकेन । त्यसपछि कोरोनाको कहरबाट देश गुज्रिरहेको छ । यता स्थायी समितिको बैठक बस्यो, बैठक बस्दाबस्दै स्थगित भएको छ । त्यसैले यसलाई गति दिनुछ । केही अहिले समाधान होलान् । केही पछि समाधान होलान् ।

त्यसोभए मंसिरमा हुँदैन महाधिवेशन, चैतमा पुग्छ ?

त्यो कार्यदलले दिएर मात्र हुँदैन । पार्टीका कमिटिहरूले छलफल गर्ने कुरा पनि हुन्छ । पार्टी के हुन्छ भनेर आशंका, चिन्ता गरेका पार्टी नेता तथा कार्यकर्ता र आमजनताले गरेको चासोप्रति पार्टी एकता सुदृढ गर्ने, पार्टीका संकटलाई हल गरेर जाने, यही सोचबाट अघि बढ्ने गरेर हिजो अध्यक्षद्वयको बीचमा भएको एउटा छलफल छ । त्यो छलफलबाट निकालिएको एउटा सहमति छ । यसलाई इमान्दारीपूर्वक, निष्ठापूर्वक यसलाई पूरा गर्ने हाम्रो तर्फबाट कोशिस गर्नेछौँ ।



प्रतिक्रिया दिनुहोस्