Logo

ओली-मोदीबीच कुराकानी, अर्थपूर्ण द्धिपक्षीय सहकार्यको अपेक्षा (परराष्ट्रको विज्ञप्तीसहित)



काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धका विषयमा आगामी दिनमा पनि छलफल तथा सम्वाद जारी राख्ने सहमति भएको छ । र, प्रधानमन्त्री ओलीले अर्थपूर्ण द्धिपक्षीय सहकार्यको आशासमेत व्यक्त गरेका थिए ।

आज अपरान्ह प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले गत १० अप्रिल २०२० मा मोदीसँग गरेको कुराकानीको सम्झना गरेका थिए ।

साथै, प्रधानमन्त्री ओलीले नेपाल सरकार र जनताका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री मोदी र उनको माध्यमबाट भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिएका थिए । र, उनले भारतको निरन्तर प्रगति र समृद्धिका पनि कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा छिमेकहरुलाई प्राथमिकतामा राखेकोबारे बोलेको कुराको सराहना गरेका थिए ।  दुवै देशका प्रधानमन्त्रीले कोभिड-१९ बिरूद्धको लडाईमा भएका पछिल्ला प्रयासहरूकाबारे विचार आदान प्रदान गरेका थिए । र, यस क्षेत्रमा मिलेर काम गर्न पनि सहमत भएको विज्ञप्तीमा जनाईएको छ । प्रधानमन्त्री ओलीले कोरोना महामारीको बिरूद्ध र जनजीवनको रक्षा गर्न नेपाल सरकारले चालेको कदम र प्रयासलाई पनि प्रकाश पारेका थिए ।

कोभिडविरुद्धको खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै प्रधानमन्त्री ओलीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने विश्वास दिलाए । उक्त भ्याक्सिनको विकाससँगै यस रोगलाई नियन्त्रण गर्न र यस रोगलाई अझ फैलिनबाट रोक्न सक्ने पनि उनको विश्वास थियो । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्