Logo

ओली-मोदी सम्बन्धमा आइसब्रेक: ११ मिनेटमा के के कुरा भयो



काठमाडौं, ३१ साउन । आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्ता संवादहीनताको अवस्थाको आइसब्रेक हो । चार महिनायताको संवादहीनताको अवस्थाको अन्त्य हो । यसले दुई नेताबीचको सम्बन्धमा आइसब्रेक भएको छ । दुई नेताबीच कालापानीको सीमा विवादयता कुराकानी हुन सकेको थिएन । सीमा विवादका लागि वार्ता हुने भनिएपनि हुन सकेको थिएन ।

आज भारतको ७४ औं स्वतन्त्रता दिवसमा बधाई दिनकै लागि ओलीले मोदीसँग महत्वपूर्ण कुराकानी गरे । यसअघि चार महिनाअघि दुई नेताबीच भिडियो कन्फरेन्समार्फत् कोरोना जोखिमसँग लड्नेबारे सार्क देशहरुबीचका नेताहरुबीचको छलफलमा कुराकानी भएको थियो । यसरी संवादहीनताको अन्त्य गरी संवाद हुनुलाई दुई देशको सम्बन्धमा आएको सकारात्मक माहोलका रुपमा लिइएको छ ।

नेपाल र भारत दुवै देशको विदेश मन्त्रालयले आज प्रधानमन्त्री स्तरीय टेलिफोन वार्ताबारे जानकारी दिएको छ । यो आफैमा अर्थपूर्ण छ । दुई नेताबीच ११ मिनेट शुभकामना दिने काम मात्र भएन । द्विपक्षीय हित र विवाद समाधानका बारे पनि कुराकानी भएको बुझिएको छ ।

भारतीय मिडियाले ओली मोदी संवादलाई निकै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । यो महिनौंयता दुई पक्षबीच संवादहिनताको अवस्था अन्त्य गर्दै भएको टेलिफोन संवाद हो ।

त्यसो त दुई देशबीच १७ अगष्टमा द्विपक्षीय छलफल हुने भएको छ । भारतीय सहयोगका विकास आयोजनाहरुबारे छलफल गर्ने गरी मिति तय भएको हो । नेपाली पक्षबाट परराष्ट्रसचिव शंकरदास वैरागी र भारतका तर्फबाट नेपालका लागि राजदुत विनय मोहन क्वात्राको नेतृत्वमा भर्चुअल छलफल हुने भएको छ । यसअघि दुई देशका प्रधानमन्त्रीबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा विवाद बढेपछि संवाद हुन सकेको थिएन । भारतले लिपुलेक लिंक रोड निर्माण गरेपछि नेपालले विरोध गर्दै आएको थियो । त्यसपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा जारी गरेको थियो । त्यसप्रति भारतले आपत्ती जनाएको थियो । उसले वार्ताको वातावरणको बारेमा समेत प्रश्न गर्दै आएको थियो । सीमा विवादका बाबजुद दुई देशबीच संवादको थालनी भएको छ । यसले दुई देशबीचको सम्बन्धमा उत्पन्न चीसोपन हट्ने विश्वास गरिएको छ ।

ओली र मोदीबीच संवादका लागि विभिन्न पक्षबाट पहल भएको थियो । भारतभित्र नेपालसँग वार्ता गरेर जानुपर्ने सुझावहरु बढेका थिए । संवादहीनताले उल्टो समस्या बढ्ने भन्दै कतिपय विज्ञले तत्काल वार्ताको सुझाव दिएका थिए । विशेषगरी नेपाल मामलाका जानकार जनरल अशोक मेहतालगायतले संवाद तत्काल थाल्नुपर्नेमा जोड दिएका थिए । संवाद नहुँदा उल्टै दुई देशको सम्बन्ध बिगार्न खोज्नेहरुलाई फाइदा पुग्न सक्नेतर्फ समेत सचेत गराइएको थियो । यसले पनि संवादको वातावरण बनेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्