Logo

कांग्रेसमा युवा पुस्ताको चर्चा : सजिलो छैन नेतृत्व हत्याउन



साउन ३१, काठमाण्डौ । नेपाली कांग्रेसमा सधैँ हुने गरेको एउटा बहस हो, युवा पुस्ता नेतृत्वमा कहिले पुग्छन् ? तर यसको जवाफ अहिलेसम्म प्राप्त भएको छैन । अहिले १४ औँ महाधिवेशनको तयारी भइरहँदा युवा पुस्ताहरु नेतृत्वमा पुग्ने प्रयास त गरिरहेका छन्, तर पुरानै पुस्ताको हस्तक्षेप बलियो देखिएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीले बेहोरेको पराजयपछि पहिलो पुस्ताबाट पार्टी अघि बढ्न नसक्ने ठहर नेपाली कांग्रेसका युवा नेताहरुले गरेका थिए । त्यसपछि नियमित रुपमा युवा नेताहरु छलफलमा जुटे । नेतृत्वलाई पटकपटक विभिन्न सुझाब पनि दिए । तर त्यसको सुनुवाई हुन सकेन । अहिले कांग्रेस १४ आँै महाधिवेशनको संघारमा छ ।

फागुनमा हुने महाधिवेशनलाई लक्षित गरी यतिबेला पनि युवा नेताहरु नेतृत्व हत्याउने दाउमा देखिन्छन् । तर अहिलेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अघिल्लो पुस्ताका झण्डै एक दर्जन नेताहरु नेतृत्वको दौडमा देखिएका छन् । यस्तो अवस्थामा फेरी पनि कांग्रेसको नेतृत्व युवा पुस्तामा नआउने सम्भावना बढेर गएको छ । युवा पुस्ताको रुपमा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, महेन्द्र यादव, कमला पन्त, सरिता प्रसाई, वीरबहादुर बलायरलगायत नेताहरु देखिएका छन् ।

युवा पुस्ताको रुपमा अघि बढ्ने प्रयास गरेपनि पुरानो भनिएको पुस्ताले नै हस्तक्षेप गर्ने संकेत देखिएपनि युवा नेताहरु कमजोर देखिएका छन् । नेता प्रदिप पौडेल पुस्ताको रुपमा नभै अब क्षमताका आधारमा नेतृत्व गर्न सक्ने नेता चाहिएको बताउँछन् । अहिलेको नेतृत्वमा अहंकार देखिएको भन्दै पौडेलले असन्तुष्टी जनाएका छन् ।

१४ औँ महाधिवेशनको लागि विभिन्न तयारी र प्रक्रियाहरु अगाडि बढिरहेको छ । तर युवा पुस्तालाई भने यसपटक अघिल्लो पुस्ताका नेतालाई कसरी नेतृत्वबाट बन्चित गराउने भन्नेमा केन्द्रित छन् । यद्यपी नेता जीवन परियारले तल्लो तहदेखि नै युवा कार्यकर्ताको बाहुल्यता भएकाले परिवर्तन हुन सक्ने अपेक्षा गरेका छन् ।

निर्वाचनमा पराजित भएको कांग्रेसका लागि २०७४ को पुस चरम पीडाकै अवस्था थियो । इतिहासकै ‘शर्मनाक’ हार भन्दै पार्टीभित्र नेतृत्वप्रति अविश्वास चुलिएको थियो । त्यसबेला अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने आवाज धेरै नै उठेको थियो । तर महाधिवेशनको नजिक आइपुग्दासम्म फेरी पुरानै पुस्ता जुर्मुराएका छन् । जसका कारण नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व कमजोर हुने हो कि भन्ने आशंका पैदा भएको छ ।



प्रतिक्रिया दिनुहोस्