Logo

नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री



काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमतिको खाका बन्दै गर्दा पार्टी कमिटी र मन्त्रिमण्डलमा पुर्नगठन हुने भएको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुर्नगठन गर्ने लगभग सहमति बनेपछि नयाँ सम्भावना देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनुनपर्ने र अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुने गरी सहमतिको खाका बनाइन लागिएको छ । दुई अध्यक्षबीच सहमतिको खाकाबारे लगभग सहमति भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गरिने भएको छ । सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने गरी खका बनाइने सहमति भएको छ । मन्त्रीमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीमा समेत हेरफेर हुने भएको छ ।

सहमतिको खाका तयार गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको छ सदस्यीय कमिटी आफैमा अर्थपूर्ण छ । कमिटीले दुई अध्यक्षबीच भएको सहमति अनुसार खाका कोर्ने तयारी गरेको छ । सहमति निर्माणमा सक्रिय भुमिका खेलेका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि रहेका छन् ।

यसैगरी पौडेलको संयोजकत्वमा गठित कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुषाल पनि पुर्नगठित मन्त्रीमण्डलमा रहने सम्भावना रहेको बुझिएको छ । पौडेल पार्टीकै जिम्मेवारीमा रहने र शंकर पोखरेलले मुख्यमन्त्री छाडेर मन्त्री बन्ने सम्भावना पनि रहेको बुझिएको छ ।  जर्नादन शर्मा गृह मन्त्री, भीम रावल परराष्ट्र वा सञ्चार र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । पम्फा भुषालले पनि मन्त्री बन्ने निश्चितप्रायः छ ।

अहिले भएकामध्ये प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल मन्त्री कायमै रहने सम्भावना रहेपनि अन्य मन्त्रीहरुमा फेरबदल हुने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । सम्भवतः आउँदो हप्ता मन्त्रीमण्डल पुर्नगठन हुनेछ ।  पुर्नगठित मन्त्रीमण्डलमा ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम पक्षका नेताहरुको समान सहभागिता हुने गरी तयारी भएको छ ।

सहमतिको खाका तयार गरेपछि भोलि नै सचिवालय बैठक बसी यसबारे छलफल हुने भएको छ । सोमबार बैठक बसी निष्कर्षमा पुगी कार्यान्वयनमा लगिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्