Logo

देउवा गुट छाडेर सभापतिको दौडमा विमलेन्द्र निधि



काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको गत महिना सभापति शेरबहादुर देउवासँग निकै चर्को विवाद भयो । पार्टी केन्द्रीय कमिटीमा भनाभनको अवस्थामा निधिले आगामी महाधिवेशनमा देखाइदिने चुनौती दिएका थिए । निधिको आक्रोशपछि उनलाई देउवाका विश्वासपात्रहरुले झम्टन खोजेका थिए ।

उक्त घटनाले काँग्रेसको राजनीतिमा दुरगामी असर पार्ने देखिएको छ । निधिले आगामी महाधिवेशनमा देउवालाई देखाइदिने भनेसँगै आफ्नै गुट बलियो बनाउन सक्रियता देखाएका छन् । उनले सभापति बन्ने दौडमा आफूलाई प्रस्तुत गरेका छन् ।

निधिले महामन्त्री डा. सशांक कोइरालालाई भेटी सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए । उनले एक अर्कालाई सघाएर जान आग्रह गरेलगत्तै सभापति देउवालाई बिहिबार भेटेर सभापतिमा आफूलाई सघाउन भनेका थिए । उनले देउवालाई सर्वोच्च नेता बनेर बस्न आग्रह गरेको बुझिएको छ । तर, देउवाले एकपटक सभापतिमा दोहोरिने चाहना देखाएपछि निधि आफ्नै गुट बलियो बनाउने निष्कर्षमा पुगेका हुन् ।

पछिल्लो समय निधिले देउवाविराधी समुहसँग भेटघाट तथा कुराकानी तिव्र पारेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनेर आफूलाई सघाउन भनेको बुझिएको छ । देउवाको नेतृत्वमाथि प्रश्न उठाउँदै निधिले आफ्नै तयारी गरेका छन् ।

भरसक देउवा समुहको साथ लिने नभए कोइराला परिवारका तीन सदस्य र प्रकाशमान सिंहसँग राजनीतिक लेनदेन गरेर अगाडि बढ्ने गरी सक्रियता देखाएका छन् । उनले आफू अब देउवा गुटमा नभएको सन्देश प्रवाह गरेर सभापतिको दौड शुरु गरिसकेका छन् । निधिको यो निर्णयले काँग्रेसको भावी राजनीतिमा ठुलो असर पर्ने देखिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्