Logo

कोइराला, सिंह र निधिलाई एक बनाएर काँग्रेसमा नयाँ नेतृत्व ल्याउने रणनीति



काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसमा विरासतको राजनीति फेरि फर्काउन एउटा समुह सक्रिय भएको छ । विशेषगरी कोइराला, सिंह र निधि परिवारलाई एकजुट बनाएर पार्टी नेतृत्वमा नयाँ अनुहार ल्याउने रणनीतिका साथ काम बढेको छ ।

कोइराला परिवारका डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला, सिंह परिवारका प्रकाशमान सिंह र निधि परिवारका विमलेन्द्र निधिलाई एकजुट बनाउन सके नेतृत्वमा यीनैमध्येबाट एक पुग्ने काँग्रेसभित्र एक समुहको निष्कर्ष रहेको छ । वीपी कोइराला, गणेशमान सिंह, महेन्द्र नारायण निधि र गिरिजाप्रसाद कोइरालाको विरासतका रुपमा उनीहरुका सन्तानलाई नेतृत्वमा स्थापित गर्न सके काँग्रेसभित्र नयाँ जीवन सञ्चार हुनसक्ने एउटा पक्षको ठम्याई छ । तदनुरुप उक्त समुह सक्रिय भएको छ ।

७० वर्षको आसपास पुगेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह सभापतिका सशक्त दाबेदार हुन् । डा. शेखर कोइराला र सुजाता कोइराला पनि दाबेदार हुन् । काँग्रेस महामन्त्री भइसकेका महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले यसपटक सभापतिमा दाबी गरिएन भने अब हुन नसक्ने देखिसकेका छन् । त्यसैले उनले सभापति देउवालाई भेटी आफूलाई सघाउन भनेका छन् । तर, देउवाले एक कार्यकाल कुर्न भनेपछि उनी बिच्किएका छन् ।

६४ वर्षको उमेरमा नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भइसकेका थिए । सँसारमा पछिल्लो समय युवा पुस्ताका नेताहरु देशको नेतृत्वमा पुगिरहेका छन् । पुटिन ६० नकट्दै रुसका राष्ट्रपति बनेका थिए । डोनाल्ड ट्रम्प ७० कटेपछि राष्ट्रपति बन्दा समेत अलि उमेर बढी भएका परे भनेर असन्तुष्टि थियो । यस्तो विश्व परिवेशमा विरासतको राजनीतिबाट आएका नेताहरु ७० पुग्न लाग्दा समेत नेतृत्वमा पुग्न नसक्नुले गम्भीर हुन थालेका छन् । त्यसैले उनीहरुले यो पटक काँग्रेसको महाधिवेशनलाई गर या मरका रुपमा लिन थालेका छन् ।

सशांक कोइरालाले गएको महाधिवेशनमै सभापतिको दाबी गरेका थिए । तर, पछि उनी महामन्त्री लड्न तयार भए र जिते । प्रकाशमान सिंह पनि गएको महाधिवेशनमा पछि हटे । अब उनी हट्ने पक्षमा छैनन् । देउवालाई आफूले मात्र हराउन सक्ने भन्न थालेका छन् । निधिले अघिल्लो पटक देउवालाई साथ दिएर आफ्नो मार्ग प्रशस्त गरे । यसपटक उनी आफै सभापतिको दाबी गर्दै मैदानमा उत्रिने गरी सक्रिय भइसकेका छन् । यतिसम्मकी डा.सशांक कोइरालालाई भेटेर राजनीतिक लेनदेनको प्रस्ताव समेत गरेका छन् ।

लगभग एउटै उमेरका प्रकाशमान सिंह, सशांक कोइराला र विमलेन्द्र निधि मिलेर बढ्ने सम्भावना नभएको होइन तर सजिलो भने छैन । तीनैजना आफूलाई काँग्रेस नेतृत्व गर्न सक्षम र हकदार सम्झन्छन् । सशांक आफ्ना पिता वीपी कोइरालाको विचार आफूले बोकेर काँग्रेसलाई नवजीवन दिनसक्ने ठान्छन् । उनले देशमा भएको राजनीतिक परिवर्तनका कतिपय विषयमा पुर्नविचार गर्नुपर्ने बोल्दै आएका छन् । उनीसँग केही निश्चित राजनीतिक एजेन्डा पनि छ । तर, सशांक राजनीतिमा धेरै पछि आएको र धेरै योगदान नगरेको भन्दै उनलाई नेतृत्वमा पुर्याउन नहुने तर्क एकाथरीको छ ।

प्रकाशमान सिंह आफूलाई काँग्रेस नेतृत्वको हकदार ठान्छन् । आफ्ना पिता गणेशमान सिंहले किस्तीमा प्रधानमन्त्री पद आउँदा समेत त्यागेको र आफूले पनि तल्लो तहदेखि राजनीति गरेर अहिलेको स्थान बनाएकोले अब आफू अगाडि बढ्ने निकटस्थसँग बताएका छन् । इमान जवानको राजनीतिक गर्ने संस्कार स्थापित गर्ने, काँग्रेसको पुरानो साख फर्काउन भुमिका खेल्ने जस्ता उनका एजेन्डा छन् ।

निधि नेपालको राजनीतिमा मधेशबाट पहिलो प्रधानमन्त्री बन्ने सम्भावना भएका नेता हुन् । उनले यसपटक यसकारण पनि साहस बढाएका छन् । उनी आफ्ना पिता महेन्द्रनारायण निधिले काँग्रेसमा पुर्याएको योगदान र देखाएको त्यागसँगै विद्यार्थी राजनीति देखि आफूले गरेको संघर्षका कारण परिपक्व भइसकेको ठान्छन् । त्यसैले सभापतिमा उनको दाबी देखिएको छ ।

यसरी तीन शक्तिशालीलाई मिलाउनका लागि केही न केही राजनीतिक लेनदेन अनिवार्य छ । कसै न कसैले त्याग गर्नुपर्ने जरुरी छ ।

भविष्यमा पार्टी र सरकार हाँक्ने विषयमा लेनदेनको सहमति बनाएर जाने सम्भावना नभएको होइन । तर, यसरी सहमति बनाउन खोज्दा देउवा र पौडेलमध्ये एकले उनीहरुलाई साथ दिनुपर्ने हुन्छ । यी दुईमध्ये एक वा दुवैले त्याग गरेमा नयाँ पुस्तामा नेतृत्व आउन सक्छ । देउवाले तत्काल नेतृत्व हस्तान्तरणमा सहमति जनाउने सम्भावना कम छ । तर, पौडेललाई देशको सर्वोच्च पदमा लाने गरी कोइराला, सिंह र निधिबीच सहमति निकाल्नेबारे काँग्रेसभित्र आन्तरिक तयारी भएको बुझिएको छ । यो खिचडी पाकिरहेको छ तर पुरा पाक्ने नपाक्ने निश्चित भने छैन ।



प्रतिक्रिया दिनुहोस्