Logo

सुख्खा बन्दरगाहको काम तत्काल रोक्न माग



काठमाडौं, भदौ १ । कीर्तिपुर नगरपालिका– ६ चोभारका स्थानीय नागरिकहरु सरकारले जबरजस्ती निर्माण गर्न थालेको सुख्खा बन्दरगाहको विरोधमा निरन्तर आवाज उठाइरहेका छन् ।

यही आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले निर्माण कार्य तत्काल बन्द नगरे कडा प्रतिरोध गर्ने जानकारी दिएका छन् ।

परापूर्व कालदेखि सामाजिक एवं साँस्कृतिक गतिविधि तथा स्थानीय जनहितमा अविछिन्न रुपमा प्रयोग हुँदै आएको ‘चोभार क्षेत्रको दुई सय ४१ रोपनी जग्गा जथाभावी विभिन्न संघ, संस्था तथा सरकारी निकायहरुमा बाँडचुँड गर्ने सरकारी योजना’प्रति समितिले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई सय १५ रोपनी नम्बरी जग्गा विनाकुनै सूचना, कुनै मुआब्जा नेपाल सरकारले सुख्खा बन्दरगाहका लागि रातारात गैरकानूनी ढंगले हत्याएर आहत भएका स्थानीय घायल जनतालाई घाउमा नूनचुक दल्ने काम भएको छ ।

अतः सार्वजनिक जग्गा विभिन्न संघ, संस्था र सरकारी निकायलाई पैतृक सम्पत्ती बण्डा गरेसरी प्रदान गरिन लागेको कार्य तत्काल बन्द गरी गैरकानूनी ढंगले लिइएको जमिन तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं ।’

हाल निर्माणाधीन चोभारको पर्यापर्यटन, वातावरण र संस्कृति नष्ट गर्ने सुख्खा बन्दरगाहको निर्माण कार्य तत्काल बन्द गरी सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम जनताको जमिन विद्यमान कानून बमोजिम तत्काल फिर्तासमेत गर्न माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्