हालसम्मकै उच्च नाफामा विद्युत् प्राधिकरण


काठमाडौं, भदौ १ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ ।

नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।

विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ ।

त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६/७७ मा हालसम्मकै उच्च रु। ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।

त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।