काठमाडौं उपत्यकाका सिडिओको बैठक जारी


काठमाडौं, ९ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप्ने वा हटाउने भन्ने बारेमा निर्णय गर्न यहाँका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुको बैठक जारी छ । बैठकमा यसअघिको निषेधाज्ञाको बारेमा समीक्षा र आगामी योजनाबारे छलफल भइरहेको जनाइएको छ ।

यसअघि यही भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न उक्त निर्णय गरिएको थियो ।

बैठक जारी रहेको र सम्भव भएमा आज र नभए भोलि बिहानसम्ममा उपयुक्त निर्णय हुने लिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भने समय थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम आदेश जारी गरिएको हो । RSS

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम