Logo

पशुचौपाया प्रकरणमा पक्राउ परेपछि भिड नियन्त्रणको क्रममा युवकको मृत्यु



झापा, ११ भाद्र । भिड नियन्त्रणको क्रममा हवाई फायर गर्दा एकजनाको मृत्यु भएको छ । पशुचौपाया काटेको अभियोगमा पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानको लागि प्रहरी कार्यालयतर्फ लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि भिडलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बलले हवाई फायर गर्दा घाइते भएका झापा गाउँपालिकाका रसिकुल आलमको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

झापा गाउँपालिका स्थित कटुवामारीमा पशुचौपाया काटिरहेको सूचना आए लगत्तै प्रहरी चौकी टाघनडुब्बा र सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई पहिचान खुल्न नसकेको चौपायाको मासु सहित बुधबार दिउँसो पक्राउ गरेको थियो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झापामा ल्याई म्याद थप तथा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा लैजाने क्रममा कामाटोली भन्ने स्थानमा सुरक्षाकर्मीहरुलाई ठूलो संख्यामा आएका स्थानीयले अवरोध गरेका थिए । सो स्थानमा थप टोली खटी गई सम्झाई बुझाई गर्ने क्रममा भीडले प्रहरीको गाडीको चाबी थुतेर सुरक्षाकर्मीलाई हातपात तथा ढुङ्गामुढा गरेपछि आत्मरक्षा तथा भिड नियन्त्रणको क्रममा सशस्त्र प्रहरी बलको तर्फबाट हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका अबदुल र ताजबुललाई हाल स्थानीय जनप्रतिनिधिहरूको जिम्मा लगाई घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्