जहाँ शासकहरुले जनतासामु स्वस्थ रहेको प्रमाणित गर्न अनेक गर्नुपर्छ


रिपोर्टर्स नेपाल । सन् १९९७ मा इराकका तत्कालिन राष्ट्रपति सद्दाम हुसेनले टिग्रिस नदी तीनपटक पौडेर पार गरे । त्यतिबेला ६० वर्ष पुगेका सद्दामको स्वास्थ्यबारे अफवाह फैलिएपछि शारीरिक रुपमा तन्दुरुस्त भएको प्रमाणित गर्न नदीमा पौडेर देखाएका थिए । उक्त दृश्य त्यहाँको टेलिभिजनले सार्वजनिक गरेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफू स्वस्थ भएको जानकारी दिन बेला बेलामा खेलकुदमा लागेको तस्बिर र भिडियो सार्वजनिक गरिरन्छन् । जुडोका खेलाडी उनी उक्त खेलमा अझै सहभागी हुन्छन् । हरेक दिन दुई घन्टा पौडी खेल्छन् । पौडी खेल्दा नै उनी रुसबारे चिन्तन गरी मस्तिष्कमा योजना तयार गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेला बेलामा आफ्नो स्वास्थ्य अवस्थाबारे यथार्थ सार्वजनिक गरिरहन्छन् । अमेरिकी जनताले आफ्ना राष्ट्रपति स्वस्थ छन् भन्ने जानुन् भनेर उनले यसो गरेका हुन् । ७३ वर्ष पुगिसकेका ट्रम्पको स्वास्थ्यबारे बेला बेलामा सवाल उठ्ने गरेको छ । त्यसलाई स्पष्ट पार्न ट्रम्प चेकजाँचको रिपोर्टबारे आफू या सचिवालयमार्फत् सार्वजनिक गर्न आवश्यक ठान्छन् । उनको मानसिक अवस्थाबारे प्रश्न नउठेको होइन । तर, त्यसबारे पनि चिकित्सकमार्फत् स्पष्ट पार्न लगाएका थिए । यसै वर्षको जुनमा ट्रम्पको चिकित्सकले उनको वार्षिक स्वास्थ्यबारे जानकारी गराएका छन् । ट्रम्पको बढेको तौल देखि सम्पूर्ण अवस्थाबारे खुलस्त पारे ।

युरोपका कतिपय मुलुकमा कम उमेरमै राष्ट्रपति र प्रधानमन्त्री बन्ने क्रम बढेको छ । यसको पछाडि शासन गर्ने स्वस्थ र तन्दुरुस्त होउन् भन्ने जनताको चासो र चाहना हो । युवा उमेरका नेताहरुले चुनावमा सफलता समेत हासिल गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन युवावस्थामै प्रधानमन्त्री भएका थिए । बेलायतमा डेभिड क्यामरन ४३ वर्षमा प्रधानमन्त्री बनेका थिए ।

न्युजल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आरडरन ३७ वर्षमै प्रधानमन्त्री बनेर अहिलेसम्म देश हाँक्दैछिन् । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मिरेला मारिन ३३ वर्षकै उमेरमा प्रधानमन्त्री बनिन् ।

सँसारभर शासकहरुले आफू स्वस्थ भएको जानकारी गराउनुपर्छ । विकसित देशहरुमा शासक स्वस्थ नभए जनताले पत्याउँदैनन् । शासक स्वस्थ होउन् र जाँगरले काम गर्न सकुन् भनेर जनताले युवा उमेरकालाई नेतृत्वमा पत्याउन थालेका छन् । युरोपका धेरै देशहरुमा यस्तो भावना विकास भएको छ । त्यहाँका दलहरुका नेता युवावस्थाका हुन थालेका छन् ।

कतिपय शासकहरु आफू स्वस्थ भएको देखाउन विभिन्न गतिविधि गरेर सन्देश प्रवाह गर्छन् । पुटिन बेला बेलामा घोडा चढेको र खेल खेलेको तस्बिर सार्वजनिक भइरहन्छ ।

पछिल्लो समय जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी आन्द्राको समस्याले एक हप्ताभित्र दुई दिन अस्पताल गएपछि स्वास्थ्यबारे प्रश्न उठेको थियो । लगत्तै उनले राजीनामा दिए ।-Photo Source: Agencies