Logo

काँग्रेसको नेतृत्व फेरि कोइराला परिवारको हातमा फर्किएला ?



काठमाडौं, १५ भाद्र । नेपाली काँग्रेसभित्र भावी सभापतिको दौडले गति लिन थालेको छ । सभापतिको आकांक्षी आधा दर्जनभन्दा बढी देखिइरहँदा दौडले गति लिएको हो ।

यसपटक पनि काँग्रेस नेतृत्व कोइराला परिवार बाहेकमा रहने हो वा होइन भन्ने चासो बढेको छ । काँग्रेसको स्थापना देखि अधिकांश समय नेतृत्वमा कोइराला परिवार नै रहेका छन् । २०४६ सालको जनआन्दोलनपछि काँग्रेस नेतृत्वमा कोइराला परिवारको एकछत्र राज चल्यो । गिरिजाप्रसाद कोइराला काँग्रेसको राजनीतिमा मात्र नभई देशकै राजनीतिमा दुई दशकभन्दा बढी हावी भए । उनीपछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाले ।

सुशील कोइरालाको निधनपछि तीन दशकपछि बल्ल काँग्रेस नेतृत्व कोइराला परिवारबाहेकमा पुग्ने सुनिश्चित भएको थियो । सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा भएकोमा देउवाले बाजी मारे । देउवा सभापति जित्दा महामन्त्रीमा डा. सशांक कोइरालाले चुनाव जिते । यो कोइरालाको राजीतिक उदयको महत्वपूर्ण क्षण बन्यो । कोइराला परिवारबाट गत महाधिवेशनमा महामन्त्रीमा सशांकले जित्दा केन्द्रीय सदस्यमा डा. शेखर कोइराला र सुजाता कोइरालाले जीत हासिल गरेका थिए ।

तीनैजना कोइरालाले त्यतिबेला रामचन्द्र पौडेललाई साथ दिएका थिए । यसपटक भने तीनैजनाको आफ्नै चाहना र दाबी छ । विशेषगरी डा. सशांक कोइराला र डा. शेखर कोइराला सभापतिका दाबेदार निस्किएका छन् । सशांकले हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा जनमतसंग्रहमा जान सकिने एजेन्डा अघि सार्दै आएका छन् । शेखर पनि धर्मनीरपेक्षता हटाउने एजेन्डामा जोड दिदै आएका छन् । यसरी कोइराला परिवारका सदस्यहरु काँग्रेसको पुरानो एजेन्डालाई ब्युँताउन खोजिरहेका छन् ।

बलियो एजेन्डासहित प्रस्तुत भएका कोइराला परिवारका दुई सदस्यले देउवालाई सभापतिमा कडा चुनौती दिने संकेत गरेका छन् । दुवैजनाले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने दाबी गरिरहेका छन् । तर, कोइराला परिवारको सदस्य मिलेर मात्र यसपटक सभापतिमा बाजी मार्ने सम्भावना देखिदैन । रामचन्द्र पौडेलको मात्र नभई प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको समर्थन आवश्यक पर्न सक्छ । यतिले मात्र देउवालाई पराजित गर्ने शक्ति नपुग्न सक्छ । विमलेन्द्र निधिको पनि साथ हुनुपर्छ । तर, यी सबै आफै सभापतिका दाबेदार हुन् ।

सभापतिका यति धेरै दाबेदार लचिलो भई साझा उम्मेदवार बन्ने सम्भावना कमजोर छ । तर, असम्भव भने छैन । पछिल्लो समय विरासतको राजनीतिक गर्दै आएकाहरु एकजुट हुन वार्तामा जुटेका छन् । यसले नयाँ सम्भावनाको संकेत गरेको छ । तर, कोइराला परिवारलाई पुनः सभापतिको उम्मेदवार बनाउने पक्षमा सहमति जुट्ने सम्भावना बन्न कठिन छ । राजनीतिक माहोलले भने फरक अवस्था सृजना गर्न सक्छ ।

काँग्रेसभित्र कोइराला परिवार शक्तिशाली भने बन्दै गएको छ । उनीहरु शक्ति सञ्चयमा लागेका छन् । परिस्थिति मिलेमा देउवाको साथमा गएकाहरु फेरि फर्कने वातावरण बन्न सक्छ । माहोल तात्तिएमा कोइराला परिवारका कुनै एक सदस्य सभापतिको उम्मेदवार बनेर समर्थनको ओइरो लाग्न सक्छ । त्यसका लागि काँग्रेसभित्र दोस्रो पुस्ताका हेभिवेटहरुको सहयोग अनिवार्य रहन्छ । त्यसका लागि एउटा समुह खटिइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्