Logo

सच्चा लेखक त सधैं प्रतिपक्षलाई नै रोज्छन्-भीष्म उप्रेती



अर्जुनधारा–९, कालीस्थान झापामा जन्मेका भीष्म उप्रेतीका कविता, निबन्ध, नियात्रा र उपन्यास गरी १९ वटा पुस्तक प्रकाशित छन् । बीबीसी युवा नेपाली कविता प्रतियोगिता–२०४९ र राष्ट्रिय कविता महोत्सव–२०५० मा प्रथम भएका उप्रेती सार्क लिटरेचर अवार्ड, गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार, कुमार सरस्वती उत्कृष्ट साहित्य सिर्जना पुरस्कार, ससिद्धि कलाश्री युवा पुरस्कारलगायतका पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भएका छन् ।

उनका पुस्तक तथा रचना अङ्ग्रेजी, जापानी, सर्बियाली, हिन्दी, सिंहाली, कोरियाली, स्लोभेनियाली, तमिल, बङ्गाली, कम्बोडियन, मेसोडोनियन, रूसी आदि भाषामा अनुवाद भई प्रकाशन भएका छन् । सिर्जनात्मक लेखनका अतिरिक्त उप्रेती अन्य भाषाका रचना अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवादसमेत गर्छन् । उप्रेती पेन नेपालका सचिवसमेत हुन् । प्रस्तुत छ रिपोर्टर्स नेपाल अनलाइन पत्रिकाले स्रष्टा उप्रेतीसँग गरेको कुराकानी

पिता/माताः आमा :कृष्णदेवी उप्रेती, बुबा : भक्तिप्रसाद उप्रेती

जन्मस्थानः अर्जुनधारा ९, कालीस्थान, झापा

अध्ययन : एम. एस्सी, एम. ए. (अर्थशास्त्र), एम. ए. (नेपाली)

प्रथम प्रकाशित रचना : मैले माया गरेँ शीर्षकको कविता

प्रकाशित कृति : कविताका ९, नियात्रा र निबन्धका ९, उपन्यास १

प्रकाशनोन्मुख कृति :

१. नियात्रासंग्रह २, कवितासंग्रह १, उपन्यास पाइला पाइलाको अंग्रेजी र सिँहाली भाषामा अनुवाद कृति
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

प्रारम्भिक लेखत त विद्यालय पढ्दा नै सुरु भएको हो । तर जिम्मेवार भएर लेख्न थालेको भने काठमाडौँ आएपछि ४० को दशकबाट हो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

लेखन र पठन अब जीवनको नियमित कृयाकलाप भएको छ । हरेक दिन केही न केही पढिरहेको हुन्छु, लेखन हरेक दिन त हुँदैन तर नियमितजस्तै लेखिरहेको, अनुवाद गरिरहेको हुन्छु ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

आफ्नो लेखन कि अरूको ? अरूको लेखनबारे केही नभनौं, तर आफ्नो लेखनमा अभैm परिमार्जन तथा स्तरियताको लागि ठाउँ भेटिरहेकै हुन्छु । त्यसैले त्यस्ता खाडललाई भर्ने प्रयास गरिरहेको पनि हुन्छु ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

छु । मेरो नियात्राको एउटा कृति आउन लागेको छ शिखा बुक्सबाट । यसैगरी, यही वर्ष मेरो उपन्यास पाइला पाइलाको सिंहाली र अंग्रेजी अनुवादको किताब पनि प्रकाशन हुँदैछ । श्रीलंकाकी कवि र मैले संयुक्त रूपमा लेखेको कविताको कृति पनि प्रकाशन–प्रक्रियामा छ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ? तपाईंको साहित्यिक आदर्श के हो ?

उत्तरदायी र जिम्मेवार सरकारका लागि राष्ट्रका सबै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी तथा समग्र विकासप्रति जिम्मेवारी रहन्छ । साहित्यकार पनि यसभित्र पर्छन् नै । तर साहित्यले देशमा सामाजिक सद्भाव बढाउन, मानिसलाई जीवनप्रति, राष्ट्रप्रति सकारात्मक भावना विकास गर्न, जिम्मेवारीबोध गर्न र कोमल अनि भावनात्मक हुन प्रेरणा दिने तथा सक्रिय गराउन सहयोग गर्ने हुनाले सरकारले साहित्यलाई केही सुविधा तथा सहयोग गर्नुपर्छ । यस्ता सुविधामा लेख्ने, प्रकाशन गर्ने, अनुवाद गर्ने, अन्तक्र्रिया गर्ने अवसर सिर्जना गरिदिने, अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव तथा गोष्ठीमा जान प्रेरित तथा सहजीकरण गर्ने, जीवन निर्वाहका लागि तथा लेखनका लागि समेत आर्थिक रूपमा छात्रवृत्ति प्रदान गर्नेजस्ता विषय पर्छन् ।
मेरो आदर्श सत्य, सन्तुष्टि र ईश्वरप्रतिको आस्था हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

लेखकहरू सबै एकै खालका छैनन् । गम्भीर र जिम्मेवार लेखकहरूले लेखकीय दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न खोजिरहेको देखिन्छ ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

यस ब्रह्माण्डमा भएको अथाह ज्ञानमध्ये हामीसँग नगण्य मात्र रहेकोले जान्ने, सिक्ने र दृष्टिकोणलाई पैmलाउने कुराको सीमा छैन । आज पाएको सन्तुष्टि अर्को समयमा त्यही रूपमा रहन्छ भन्ने हुँदैन । ज्ञान, अनुभव तथा चेतनाको नयाँ ढोका खोलेपछि पहिलेको सन्तुष्टिप्रति त्यही रूपमा सन्तुष्ट भइरहँदैन मान्छे । जतिबेला मैले आफ्नो कृति प्रकाशन गरेँ– त्यो त सन्तुष्ट भएरै गरेको हुँ । तर आजको कुरा त्यही रहिरहँदैन । आफ्नै कृतिमा पनि परिमार्जन गर्नुपर्ने कति ठाउँ देखेको छु । त्यसै हुनाले निरन्तर लेखिरहेको छु ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

मानिसलाई जीवन, जगत् र प्रकृतिप्रति सकारात्मक भावना जगाउने, मानिसलाई मानिसप्रति प्रेम जागृत गराउने साहित्य हामीलाई चाहिन्छ । मानिसलाई बाँच्न र बाँचुन्जेल राम्रो काम गरिरहन प्रेरित गर्ने साहित्य चाहिन्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

प्रेरणाका स्रोत अनेक हुन्छन् । कहिले राम्रो रचनाको पठनले, कहिले मानिससँगको वार्तालापले, कहिले आवश्यकताले, कहिले जीवनप्रतिको हुटहुटीले र कहिले आफ्ना अनुभव अरूलाई पनि उपयोगी होस् भन्ने भावनाले पनि लेख्नलाई प्रेरणा दिन्छन् । प्रशंसा, पुरस्कार र सम्मान जिम्मेवारीसँगै प्रेरणा पनि हुन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

त्यस्तो निश्चित समय छैन । कहिलेकाहीं राति १, २ बजे उठेर पनि लेखेको छु । तर अचेल भने सामान्यतया दिउसो पनि लेख्ने गरेको छु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

सबैलाई एकै खालको वातावरण चाहिँदैन होला । मलाई भने बाह्य र आन्तरिक दुवै वातावरण शान्त चाहिन्छ । म जहाँ पायो– त्यहीँ बसेर रचना गर्न सक्तिनँ । मेरो घरमा पनि मैले लेख्ने गरेका निश्चित ठाउँ छन् ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

पढेर, परेर, देखेर, अनुभव गरेर तथा आवश्यकताबोध गरेर लेख्ने विषयवस्तु छान्छु ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ? यस विषयमा सर्वेक्षण गरेको छैन । तर प्रकाशकहरू आख्यानका पाठक तुलनात्मक रूपमा बढी छन् भन्छन् । यसैगरी, गैर आख्यानमा बायोग्राफी, संस्मरण र नियात्राका पाठक आत्मपरक निबन्धका भन्दा केही बढी छन् भनेर पनि प्रकाशकहरूले भन्ने गरेका छन् । प्रकाशन, छलफल, चर्चा र वाचनका दृष्टिले भन्ने हो भनेचाहिँ कविता सर्वाधिक चर्चामा रहने गरेको देख्छु ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ? यो तपाईं कस्तो रचना कसका लागि लेख्दै हुनुहुन्छ भन्ने कुरामा पनि निर्भर हुन्छ । सामान्य रूपमा भन्ने हो भने यी दुवैको राम्रो संयोजनले प्रभावकारी साहित्य बन्दछ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

जतिबेला मनमा विचार अनि भावना भरिएर आउँछन् र आपूmलाई एकदमै असहज अनुभव गर्छु, लेख्नैपर्ने आवश्यकता आइपर्छ ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

स्रष्टा समाजकै सदस्य हुन् । स्रष्टाका पनि अनेक आवश्यकता हुन्छन् । देखावटीमा रमाउने समाजमा स्रष्टालाई पनि देखावटी गर्नुपर्ने हुन्छ । नाम, दाम, सम्मान र देखावटी नै सही, शक्तिको लोभले कतिपय स्रष्टा दलको झन्डामुनि पुग्ने गर्छन् । कतिपय स्रष्टा भने दलले बोकेको आदर्शबाट प्रभावित भएर पनि पुगेका हुन्छन् । तर लेखकको धर्म देखेको सत्यलाई आवाज दिने हो । यस अर्थमा कतिपय सच्चा लेखक सत्ताको प्रतिपक्षलाई नै रोज्छन् ।

प्रस्तुति : जयराम सापकोटा



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम